काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ।
महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। स्रोतका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ।
‘कार्यपालिका बैठक राख्नको लागि कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको छ,’ स्रोतले भन्यो, ‘मेयरले नै कार्यकारीसँग बैठक नबस्ने भनेपछि बजेट ल्याउन कार्यकारीलाई छुट्टीमा बस्न लागाएका छौं। उहाँले स्वीकार गर्नुभएको छ।’ स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ।
महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। तर मेयर शाहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन्। ६ महिनापछि भोलि बस्ने भएको हो। आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर शाहसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिएका थिए।त्यसपछि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले मेयरको ढिपीका कारण महानगरका गतिविधि नै रोकिने स्थिति आएको भन्दै गुरागाईंलाई बिदा बस्न लगाएर भए पनि कार्यपालिका बैठक डाक्नुपर्ने राय व्यक्त गरेका थिए।
एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भने यसमा सहमति रहेको थिएन। उनीहरूले नियमअनुसार गुरागाईंलाई पनि बैठकमा सामेल गराउनुपर्ने अडान लिएका थिए। यसको नेतृत्व एमाले तर्फबाट निर्वाचित उपमेयर डंगोलले नै लिएकी थिइन्।
आखिरमा मेयर शाह कुनै हालतमा मञ्जुर नहुने देखेपछि गुरागाईंलाई बिदामा राखेर बैठक डाक्न उपमेयर तयार भएकी थिइन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बजेट ल्याउन आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए।
