२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

शितगंगामा सामुदायिक बनको आम्दानीबाट सडक कालोपत्रे

प्रेमनारायण आचार्य । अर्घाखाँचीमा एउटा सामुदायिक वनले स्थानीय सरकारसँगको सहकार्यमा मोटरबाटो कालोपत्रे गरेको छ। बाटो कालोपत्रे भएपछि स्थानीयहरू छमछमी नाचेका छन् । खुसियाली मनाएका छन् ।

शितगंगा नगरपालिका-१२ मा रहेको मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकार शीतगंगा नगरपालिकासँग सहकार्य गरेर सडक कालोपत्रे गरेको हो। सामुदायिक वनको आम्दानी १५ लाख र शीतगंगा नगरपालिकाको १० लाख गरी २५ लाखमा पत्थरकोटमा मोटरबाटो कालोपत्रे गरेको सामुदायिक वनका अध्यक्ष प्रदीप विसीले बताए। डबल लेनको सडक २ सय ९५ मिटर कालोपत्रे गरेको अध्यक्ष विसीको भनाइ छ ।

सामुदायिक वनको आम्दानीबाट विभिन्न विकास निर्माणका कामहरू गर्दै आएको सामुदायिक वनले यस वर्ष सडक कालोपत्रे गरेको हो। यो सामुदायिक वनले सिँचाइ कुलो निर्माण, खानेपानी योजना, विद्यालयमा सहयोग, गरिब घरपरिवारमा शौचालय निर्माणलगायत कामहरू गर्दै आएको अध्यक्ष प्रदीप विसीले जानकारी दिए।

कालोपत्रे निर्माण सडकको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कलवारले भव्य समारोहबीच समुद्घाटन गरेका छन्। मन्त्री कलवारले विदेशी काठको आयात तत्काल रोकी नेपाली काठको उच्चतम प्रयोग गर्नुपर्ने बताए। मन्त्री कलवारले वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गर्ने घोषणा गरेको नेपाल वर्षोदेखि काठमा परनिर्भर भएकाले अब स्वदेशी काठलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शितगंगा नगरपालिकामा रहेका विभिन्न सामुदायिक वनहरूले सडक निर्माण, मोटरबाटो कालोपत्रे, विद्यालय भवन निर्माण, सिंचाइ कुलो निर्माण,बिजुली बत्ती बाल्नेलगायत विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताए।

सामुदायिक वनले विकास निर्माणका कामहरू मात्र हैन्, विभिन्न रोजगारी सृजना गरेको छ । युवाहरू वैदेशिक रोजगारी र भारतबाट फर्केर विभिन्न रोजगारीमा लागेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी सहायक वन अधिकृत केशव खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय