लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आफ्नो घर र आफ्नै परिवारजनबिच असमझदारी बढ्दै जाँदा परिवार भित्रबाटै ज्यान लिने संख्या बढ्दै गएको छ ।
घरेलु झैंझगडा हुँदा आफन्तबाटै मारिने यी घटनाले पारिवारिक अपराधको बढ्दो ग्राफलाई चित्रण गरिरहेको छ । बाहिरी व्यक्ती वा समुह भन्दा आफ्ना पारिवारिक सदस्यहरुबाट असुरक्षा बढ्दै गएको छ । घरेलु विवाद, अनैकित यौन सम्बन्ध, शंका उपशंका नै यसको प्रमुख कारक रहेको पाईन्छ ।
गएको एक महिनाभित्र अर्घाखाँचीमा तिन जनाको हत्या भएको छ सबै हत्या परिवारजनबाट भएको छ ।
घटना नम्बर–१ २०८२ असार १ गते छत्रदेव गाउँपालिकामा आफ्नै श्रीमतीले श्रीमानको ज्यान लिईन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, दुन्द्रुक शिख्रे बस्ने २७ वर्षिय मेखमायाँ कुमालले आफ्नै ३८ वर्षिय श्रीमान् रामु कुमालको धारिलो हतियार (दाउ) प्रहार गरि हत्या गरिन् ।
घरायसी विवाद हुँदा सामान्य झैंझगडा गरेर संगै सुतेका श्रीमानलाई रिसको झोंकमा राती साढे १२ बजे उठेर दाउ टाउकोमा हिर्काइन् र हत्या गरिन् । झगडाको प्रमुख कारण महिलाको परपुरुषसंगको सम्बन्ध रहेको गाउँलेले बताउँछन् ।
घटना नम्बर–२ २०८२ असार १२ गते शितगंगा नगरपालिकामा सहोदर दाईले भाईको हत्या गरे । शितगंगा नगरपालिका वडा नम्बर–६, जुकेना पाखापानीका ४२ वर्षिय टेक बहादुर बादीले आफ्नै सहोदर भाई ३२ वर्षिय बोम बहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरे ।
संगै बसेर मदिरा सेवन गरिरहेका दाजुभाईबिच चुरोटलाई लिएर विवाद सुरु भयो । झैझगडा लम्बिंदा विवादले उग्र रुप लियो जसले दाईले भाईको टाउकोमा बन्चरो प्रहार गर्न पुगे । यो केसमा समेत देवर–भाउजुको अनैतिक सम्बन्ध प्रमुख कारक रहेको बताईन्छ ।
घटना नम्बर–३ २०८२ असार २६ गते सन्धिखर्क नगरपालिकामा झड्केला छोराले बुवाको हत्या गरेर मलखादमा पुरे । सन्धिखर्क नगरपालिका वडा नम्बर–१२, डिभर्ना बाँझखर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा बुद्धी बहादुर नेपालीले धारिलो हथियार प्रयोग गरी निर्मम हत्या गरेका थिए । हत्यापछि घटना लुकाउन बुवाको शवलाई मलखादमा गाडे ।
मदिरा सेवन गरेर घरमा पुगेका नेपालीले बुवासँग झगडा गरेका थिए। झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा मृत्यु भएको थियो । यो घटनामा आपसी मेल नहुनु कारण देखिएको छ यद्दपी घटनाको अनुसन्धान भईरहेको छ ।
यी ताजा र प्रतिनिधी घटना हुन् । अर्घाखाँचीमा पछिल्लो तिन वर्षमा भएका दर्जन हत्याहरुमध्ये अधिकाशं परिवार र आफन्तबाट नै भएको देखिएका छन् । मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने परिवार, आफन्त र निकटस्थजन हुन् । तर विभिन्न बहानामा सुरू हुने असमझदारी आवेशमा भौतिक आक्रमणसम्म पुग्दा जघन्य अपराधमा रुपान्तरण हुने गरेको छ ।
२०७९ कार्तिक ४ गते वृद्धाभत्ता बुझेर आएका सहोदर दाजुले भाईलाई भिरबाट धकेले । भुमिकास्थान–१, ढाकाबाङमा ७४ वर्षिय दाजुले ७० वर्षिय भाईको पैसाको प्रलोभनमा परेर ज्यान लिएका थिए ।
२०८१ कार्तीक २८ गते शितगंगामा मामाले भान्जाको हत्या गरे । शितगंगा–६, सानाढुंग्रेमा मामा–भान्जाले संगै बसेर मदिरा सेवन गरिरहँदा झगडा हुँदा ३५ वर्षिय भान्जालाई ५३ वर्षिय मामाले हत्या गरे ।
परिवार भित्रबाट हुने हिंसा र जघन्य अपराध रोक्न एक्लो व्यक्ती वा संस्थाबाट मात्र सम्भव नभएकाले समाजमा बस्ने सबैको उत्तिकै दायित्व रहेको अधिवक्ता जगन्नाथ भुसालले बताए । स्थानीय पालिका, प्रहरी, सामाजिक संघसंस्था, विद्यालय र अन्य सरोकारवालाहरुको सामुहिक प्रयासबाट मात्र यसको न्युनिकरण सम्भव रहेको उनले बताए ।
