१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अर्घाखाँचीमा एकै महिनामा तिन जनाको हत्या, हत्याको कारण ‘परिवार’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आफ्नो घर र आफ्नै परिवारजनबिच असमझदारी बढ्दै जाँदा परिवार भित्रबाटै ज्यान लिने संख्या बढ्दै गएको छ ।

घरेलु झैंझगडा हुँदा आफन्तबाटै मारिने यी घटनाले पारिवारिक अपराधको बढ्दो ग्राफलाई चित्रण गरिरहेको छ । बाहिरी व्यक्ती वा समुह भन्दा आफ्ना पारिवारिक सदस्यहरुबाट असुरक्षा बढ्दै गएको छ । घरेलु विवाद, अनैकित यौन सम्बन्ध, शंका उपशंका नै यसको प्रमुख कारक रहेको पाईन्छ ।

गएको एक महिनाभित्र अर्घाखाँचीमा तिन जनाको हत्या भएको छ सबै हत्या परिवारजनबाट भएको छ ।

 घटना नम्बर–१  २०८२ असार १ गते छत्रदेव गाउँपालिकामा आफ्नै श्रीमतीले श्रीमानको ज्यान लिईन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, दुन्द्रुक शिख्रे बस्ने २७ वर्षिय मेखमायाँ कुमालले आफ्नै ३८ वर्षिय श्रीमान् रामु कुमालको धारिलो हतियार (दाउ) प्रहार गरि हत्या गरिन् ।

घरायसी विवाद हुँदा सामान्य झैंझगडा गरेर संगै सुतेका श्रीमानलाई रिसको झोंकमा राती साढे १२ बजे उठेर दाउ टाउकोमा हिर्काइन् र हत्या गरिन् । झगडाको प्रमुख कारण महिलाको परपुरुषसंगको सम्बन्ध रहेको गाउँलेले बताउँछन् ।

 घटना नम्बर–२  २०८२ असार १२ गते शितगंगा नगरपालिकामा सहोदर दाईले भाईको हत्या गरे । शितगंगा नगरपालिका वडा नम्बर–६, जुकेना पाखापानीका ४२ वर्षिय टेक बहादुर बादीले आफ्नै सहोदर भाई ३२ वर्षिय बोम बहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरे ।

संगै बसेर मदिरा सेवन गरिरहेका दाजुभाईबिच चुरोटलाई लिएर विवाद सुरु भयो । झैझगडा लम्बिंदा विवादले उग्र रुप लियो जसले दाईले भाईको टाउकोमा बन्चरो प्रहार गर्न पुगे । यो केसमा समेत देवर–भाउजुको अनैतिक सम्बन्ध प्रमुख कारक रहेको बताईन्छ ।

 घटना नम्बर–३  २०८२ असार २६ गते सन्धिखर्क नगरपालिकामा झड्केला छोराले बुवाको हत्या गरेर मलखादमा पुरे । सन्धिखर्क नगरपालिका वडा नम्बर–१२, डिभर्ना बाँझखर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा बुद्धी बहादुर नेपालीले धारिलो हथियार प्रयोग गरी निर्मम हत्या गरेका थिए । हत्यापछि घटना लुकाउन बुवाको शवलाई मलखादमा गाडे ।

मदिरा सेवन गरेर घरमा पुगेका नेपालीले बुवासँग झगडा गरेका थिए। झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा मृत्यु भएको थियो । यो घटनामा आपसी मेल नहुनु कारण देखिएको छ यद्दपी घटनाको अनुसन्धान भईरहेको छ ।

यी ताजा र प्रतिनिधी घटना हुन् । अर्घाखाँचीमा पछिल्लो तिन वर्षमा भएका दर्जन हत्याहरुमध्ये अधिकाशं परिवार र आफन्तबाट नै भएको देखिएका छन् । मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने परिवार, आफन्त र निकटस्थजन हुन् । तर विभिन्न बहानामा सुरू हुने असमझदारी आवेशमा भौतिक आक्रमणसम्म पुग्दा जघन्य अपराधमा रुपान्तरण हुने गरेको छ ।

२०७९ कार्तिक ४ गते वृद्धाभत्ता बुझेर आएका सहोदर दाजुले भाईलाई भिरबाट धकेले । भुमिकास्थान–१, ढाकाबाङमा ७४ वर्षिय दाजुले ७० वर्षिय भाईको पैसाको प्रलोभनमा परेर ज्यान लिएका थिए ।

२०८१ कार्तीक २८ गते शितगंगामा मामाले भान्जाको हत्या गरे । शितगंगा–६, सानाढुंग्रेमा मामा–भान्जाले संगै बसेर मदिरा सेवन गरिरहँदा झगडा हुँदा ३५ वर्षिय भान्जालाई ५३ वर्षिय मामाले हत्या गरे ।

मदिरा सेवन र अनैतिक सम्बन्ध आफन्तबाट असुरक्षित हुनुका प्रमुख कारक रहेपनि असमझदारी, प्रलोभन, पारिवारिक सम्बन्ध सुमधुर हुन नसक्नु, एक अर्काप्रती विश्वास गुम्नु तथा आपसमा बेमेलको वातावरण सृजना हुँदा घरभित्रै अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्र बहादुर मल्लले बताए । ‘धेरै कारणहरु छन् जसले गर्दा परिवार र आफन्तबाटै अपराध बढाई रहेको छ,उनले भने,‘परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु गरिराखेका छौं ।’

परिवार भित्रबाट हुने हिंसा र जघन्य अपराध रोक्न एक्लो व्यक्ती वा संस्थाबाट मात्र सम्भव नभएकाले समाजमा बस्ने सबैको उत्तिकै दायित्व रहेको अधिवक्ता जगन्नाथ भुसालले बताए । स्थानीय पालिका, प्रहरी, सामाजिक संघसंस्था, विद्यालय र अन्य सरोकारवालाहरुको सामुहिक प्रयासबाट मात्र यसको न्युनिकरण सम्भव रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय