सत्तारुढ दल नेपाली कांग्रेसको बैठक बुढानीलकण्ठमा जारी छ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेसका मन्त्री, पदाधिकारी र पूर्वपदाधिकारी र सातै प्रदेशका नेतासमेत सहभागी बैठक जारी रहेको हो।
नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेपछि डा. शेखर कोइरालाले पार्टीभित्र दबाब बढाएका छन्। उनले आफ्ना समूहका नेता र सांसदसँग पनि छुट्टाछुट्ट छलफल चलाएपछि र सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि व्यक्त गर्न थालेपछि देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका हुन्।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्षपूरा भएकाले कमजोर कार्यसम्पादन रहेका मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने एमाले र कांग्रेसको तयारी छ।
कोइरालाले विपक्षी दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायतसँग पनि भेटघाट गरेका थिए। कोइराला पनि बैठकमा सहभागी छन्।
