नक्कली लालपुर्जा प्रकरणमा बुटवल मालपोत कार्यालयका अधिकृत पक्राउ परेका छन्।
सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्।
उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ।
पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकाहरूले घुस रकम लिएर सरकारी र कतिपय अन्य व्यक्तिको जग्गाको समेत नक्कली लालपुर्जा बनाइ बिक्री वितरण गर्ने र सोही लालपुर्जा धितो राखेर सहकारी संस्थाबाट ऋण निकालेको स्रोतको दाबी छ।
अर्यालले तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा रहेको कित्ता नं. १५७ को नक्कली लालपुर्जा निकालेको प्रहरीको भनाइ छ।
