१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

बदलिएको अर्घाखाँची कांग्रेस

दुई दलिय जिल्लास्तरिय राजनितिक संयन्त्र भंग गरेर जनताको मुद्दामा केन्द्रित कांग्रेस

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस सबैभन्दा पुरानो र ठुलो दल हो । जिम्मेवारीका हिसाबले पनि कांग्रेस अग्रस्थानमा नै हुनुपर्ने हो । तर, केन्द्रमा आफ्नै भाँडभैलो मिलउनु र सरकारको साँची बस्नु बाहेक अन्य उपलब्धी देखिएको छैन ।

तर, जिल्लामा नेपाली कांग्रेस केही फरक देखिएको छ । पछिल्ला केही महिनायता कांग्रेस आक्रामक देखिएको छ । एमालेसंगको जिल्लास्तरिय संयन्त्र भंग गरेको कांग्रेसले अहिले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको छ । जिल्ला सभापती केशव श्रेष्ठले सत्तामै हराउने राजनितिक संयन्त्र नचाहिएको भन्दै संयन्त्र भंग गर्ने उद्घोष गरेका थिए । मुख्यमन्त्रीकै जिल्लामा कांग्रेसले दुई दलिय संयन्त्र भंग गरेपछी एमालेलाई नैतिक संकट थपिएको छ ।

देशमा जनता मारेर राजनिति गर्न आफु नआएको भन्दै सभापती श्रेष्ठले यसरी चल्न नसक्ने बताएका छन् । ‘हामी सत्ताको साँची बस्न र ताली बजाउन मात्र आएका होईनौं, उनले भने,‘जनताका मुद्दा कसले बोल्छ ?’

‘गाउँमा किसानहरु रोएका छन्, दिनप्रतिदिन बसाइसराई बढ्दो छ, जनताले दैनिक सास्ती भोगी रहेका छन्, बाढीपहिरोले क्षती पुर्‍याएको छ, गरिखान पनि मुस्किल परिरहेको छ । यस्तो बेलामा जिल्लाकै मुख्यमन्त्री भएर पनि जनताले राहत पाउँदैनन् भने के अर्थ राजनितिको ? कस्का लागी गर्ने हो राजनिती ?’ सभापती श्रेष्ठको भनाई ।’

सभापती श्रेष्ठ आक्रामक देखिएका छन् । गाउँ पुग्ने र समस्या लिएर सम्बन्धित निकायमा पुग्ने उनको दैनिकी बनेको छ । कांग्रेसले उठाएका मुद्दा कार्यान्वयन भएका पनि देखिएको छ । जंगली जनावरको विषय होस् या रेबिज विरुद्धको भ्याक्सिन, कार्यालय अन्यत्र सर्ने विषय होस् या कुकुर आतंकको विषय । सभापती श्रेष्ठ निकायमै पुगेर ध्यानाकर्षण गराउने गरेका छन् । काठमाण्डौ पुगेर उनले जिल्लाको विकासका लागी बजेट समेत मागेर ल्याएका छन् ।

कांग्रेस नेतृत्वले गरेका मुख्य प्रयासहरु

  • भुमिकास्थान नगरपालिकाको प्रशासकिय भवनलाई बजेट
    (बहुवर्षियमा ९ करोड छुट्टिएको)
  • देशकै ठुलो नगरपालिका शिंतगंगामा ईलाका प्रशासन कार्यालय राख्नुपर्ने माग
    (गृह मन्त्रालयबाट फाईल अर्थ मन्त्रालयमा गएको, अध्ययन हुँदै)
  • ६ वटै पालिकामा विभिन्न सडकलाई बजेट माग
    (केन्द्र र प्रदेशबाट करिब १५ करोड छुट्टिएको)
  • बाँदर तथा बँदेल आतंकका सवालमा ध्यानाकर्षण
    (हेरालुको व्यवस्था गरिरहेको, जिल्ला सुरक्षा समितिमा भरुवा बंदुकबारे छलफल)
  • कुकुर आतंक नियन्त्रण गर्न भेटरिनरी अस्पतालमा ध्यानाकर्षण
    (स्थाई बन्ध्याकरण र कुकुर घर बनाउन माग)
  • रेबिज विरुद्धको भ्याक्सिन अविलम्ब उपलब्ध गराउन माग
    (जिल्ला अस्पताल, ठाडा स्वास्थ्य केन्द्र र बलकोट स्वास्थ्य केन्द्रमा उपलब्ध भईसकेको)
  • संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय यहीं राख्नु पर्ने माग
    (सिडिओ कार्यालय मार्फत ध्यानाकर्षण पत्र, क्याबिनेटले यथावत राख्ने प्रक्रिया चाल्दै)

नेपाली कांग्रेस अर्घाखाँचीले केही महिना यता यि मुद्दाहरु उठाएको छ र केही परिणामहरु पनि देखिएका छन् । नेपाली कांग्रेसका सभापती केशव श्रेष्ठ नेतृत्वमा प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, पार्टी उपसभापती द्वय बिष्णु भुसाल, बाबुराम पौडेल, सचिव द्वय कृष्ण खनाल, अच्युत गौतम, सहसचिव द्वय कमल पौडेल, मेघराज पाण्डे लगायत नेताहरु यि मुद्दामा केन्द्रीत छन् ।

एकातर्फ जनताका मुद्दाहरु बोकेर कांग्रेस हिंडिरहेको छ भने अर्को तर्फ जिल्लाको गुटबन्दी मेटाउन तेस्रो पुस्ताका नेताहरु क्रियाशिल भएका छन् । उपसभापती बिष्णु भुसालको नेतृत्वमा जिल्लाका नेताहरु चरणबद्ध रुपमा छलफल र बहस चलाईरहेका छन् । कांग्रेसलाई बलियो बनाउन उनिहरुले गुटबन्दी अन्त्यसहितका योजनाहरु अँघीं सारेर काम गरिरहेको नेताहरुले बताएका छन् । चार चरणमा छलफल भईसकेको भन्दै अब सुधारिएको र सुध्रिएको कांग्रेस बन्ने उनिहरुको विश्वास छ ।

देशको ठुलो दल नेपाली कांग्रेस २०७९ सालको निर्वाचनपछी सत्ताको गोलचक्करमा फस्दै आएको छ । कहिले माओवादी, कहिले एमालेले ‘फुटबल’ खेलाईरहेको कांग्रेस सबैभन्दा ठुलो दल भएर पनि सत्ताको साँची बस्न बाध्य छ ।

निर्वाचनमा माओवादी लगायतका दलसंग गठबन्धन गरेर पहिलो दल त बन्यो तर माओवादीले एमालेसंग सहकार्य गरेर कांग्रेसलाई पाखा लगायो । केही महिनामै एमालेसंगको खटपटपछी कांग्रेससंग गुहार मागेको माओवादीले कांग्रेससंग मिलेर सरकार बनायो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने र कांग्रेस पनि सरकारमा सामेल भयो । केही महिना बित्दा नबित्दै माओवादीको ‘मुड’ फेरियो र पुनः एमालेको शरणमा पुग्यो ।

एमाले र कांग्रेसलाई पालैपालो रिंगाईरहेका प्रचण्डलाई तब झड्का लाग्यो जब रातारात कांग्रेस एमाले एक भए । संविधान संशोधन लगायत ७ बुदे समझदारी गर्दै कांग्रेस र एमालेको संयुक्त सरकार गठन भयो । यसपाली पनि कांग्रेसले सरकारको नेतृत्व गर्न सकेन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व सुम्पिदैं पालो कुरिरहेको कांग्रेस न सत्तापक्ष जस्तो देखिन्छ न प्रतिपक्ष जस्तो नै देखिएको छ ।

केन्द्रको ‘लाजनिती’ मा जिल्लाको ‘राजनिती’ हराएको छ । जिल्ला नेतृत्वले गरेका राम्रा कामहरु समेत ओझेलमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय