जिम्बावे क्रिकेटको ५० हजार अमेरिकी डलरको सहयोग प्राप्त गरेको छ । घरेलु टोलीहरूलाई सहयोग गर्ने जिम्बावे क्रिकेटले वित्तीय संस्था सीएबीएसबाट ५०,००० डलरको प्रायोजन प्राप्त गरेको हो । यसबाट प्रथम श्रेणीका पाँच वटा टोली लाभान्वित हुनेछन् ।
जिम्बावे क्रिकेटका अनुसार यो सहयोग लोगान कप, प्रो–फिफ्टी च्याम्पियनशिप र घरेलु टी–ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पाँच वटा टोली– इगल्स, राइनोस, टस्कर्स, माउन्टेनियर्स र सदर्न रक्सले पाउनेछन् । यो प्रायोजनले टोलीहरूलाई प्रशिक्षण, प्रतिभा विकास र खेलाडी कल्याण जस्ता प्रमुख क्षेत्रहरूमा लगानी गर्न मद्दत गर्नेछ ।
यसैबीच जिम्बावे क्रिकेटका प्रबन्ध निर्देशक गिभमोर माकोनीले घरेलु क्रिकेट यात्रामा एक मूल्यवान् साझेदारका रूपमा बोर्डमा आएकोमा सीएबीएसप्रति आभार व्यक्त गर्नुभएको छ । यस प्रकारको सहयोगले खेलको जग बलियो बनाउन र दीर्घकालीन वृद्धिलाई सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
