नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
सतप्रतिशत मतदान भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका पूर्वनेता बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ दलको नयाँ नेता चयन भएका हुन् । कांग्रेसको बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ संसदीय दलको नेता बनेसँगै बागमतीमा अब उनकै नेतृत्वमा नयाँ सरकार गठनको पहल हुनेछ ।
बुधबार हेटौंडामा भएको निर्वाचनमा बानियाँले २२ र लामाले १४ मत प्राप्त गरे । एक मत बदर भएको थियो । २०७९ सालमा भएको निर्वाचनमा भने बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चुनिएका थिए ।
दलका नेता लामाविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबारमात्र भएको मतविभाजनमा २२ मत परेको थियो भने विपक्षमा १५ मत खसेको थियो । लामाले विश्वास गुमाएपछि बुधबार नयाँ नेता चयनका लागि मतदान भएको हो ।
दलको नेता नै मुख्यमन्त्री हुने कांग्रेस प्रावधानले लामा मुख्यमन्त्री बनेका थिए ।
