लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ । यही भदौ ९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ ।
प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अँघीं बढ्ने छ ।
अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने आचार्यले बताए । सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृह मन्त्रालयले प्रस्ताव पठाएको थियो ।
अर्घाखाँचीको ठाडामा पनि नयाँ इलाका प्रशासन
गृह मन्त्रालयले प्रस्ताव गरेका २३ वटा ईलाका प्रशासन कार्यालय मध्ये अर्घाखाँचीको शितगंगा नगरपालिका पनि परेको छ । देशकै ठुलो नगरपालिका शितगंगाको ठाडामा इलाका प्रशासन कार्यालय खुल्ने भएपछी त्यहाँका नागरिक र जनप्रतिनिधी उत्साहित भएका छन् ।
ठुलो भुगोल भएका कारण त्यहाँका नागरिकलाई सदरमुकाम आउन कठिन थियो । इलाका प्रशासन कार्यालय खुलेसंगै त्यहाँका नागरिकलाई सहज हुनेछ ।
शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले धेरै मेहनतपछी इलाका प्रशासन थपिने भएकोमा खुशी व्यक्त गरे । ‘आधिकारिक रुपमा कुनै जानकारी त आएको छैन,उनले भने,‘समाचारहरुमा थपिने भन्ने सुनें, हाम्रो पालिकाको नाम समेत त्यसमा समावेश भएको पाएको छु । हामी निकैं खुशी छौं ।’
