अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।
नेपालले एसीटीलाई ६ विकेटले हराएको हो । एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए । गुल्शन झाले २३ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।
यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।
नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।
