जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भदौ २४ को प्रदर्शनमा भएको तोडफोड र आगजनीका घटनाका भिडियो फुटेज खोजी कार्यमा जुटेको छ ।
आन्दोलनका क्रममा व्यक्तीगत तथा सार्वजनिक संस्थानमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै आगजनी, तोडफोड र उछ्रिङ्खल गतिविधीका तस्विर, भिडियो र लाईभ लिङ्कहरु खोजि गरिरहेको जनाएको छ ।
सार्वजनिक रुपमै अपिल गर्दै प्रहरीले घटनाका तस्विर, भिडियो र लिङ्कहरु ईमेल गर्न आग्रह गरेको छ । पठाउने व्यक्तीको गोपनियता राख्ने प्रहरीले प्रतिबद्धता व्यक्त समेत गरेको छ ।
प्रदर्शनकारीहरूले गत मंगलबार बेलुका सन्धिखर्क नगरपालिका–१, हटारीमा रहेको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको निजी निवासमा तोडफोड र आगजनी गर्नुका साथै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।
यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समिति, वडा नम्बर १, वडा नम्बर २ को कार्यालयमा पनि तोडफोड भएको थियो । केही सरकारी गाडीहरूमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्याएका थिए ।
