नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा तथा फागुन २१ गते हुने प्रतिनिधी सभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेद्वारहरु सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना, समानुपातिकमा ६ जना र राष्ट्रिय सभामा ३ जना सिफरिस गरेको हो । आकांक्षी धेरै भएपछी केन्द्रीय मापदण्डविपरित तोकिए भन्दा बढी उम्मेद्वारहरु सिफारिश गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए । ‘सहमतीको अधिकांश प्रयत्न गरेका हौं,उनले भने,‘आकांक्षी धेरै हुनुभएकाले थोरै मापदण्ड मिचिन पुग्यो ।’
प्रत्यक्ष तर्फ पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालसहित ८ जना सिफरिस भएका हुन् । पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल ‘मुस्कान’, छत्रदेव गाउँपालिकाका पुर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधीहरु मुक्तीराम श्रेष्ठ, जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापती बाबुराम पौडेल पनि प्रत्यक्ष तर्फ उम्मेद्वार सिफारिस भएका छन् ।
यसपाली नेपाली कांग्रेसकी प्रभावशाली नेतृ पुष्पा गौतम भुसाल ‘सेफ जोन’मा बसेकी छिन् । उनले प्रत्यक्ष निर्वाचनबाट पछी हटेर समानुपातिकमा बस्ने चाहना राखेकी छिन् । गत निर्वाचनमा प्रत्यक्ष लड्दा नेकपा एमालेका टोप बहादुर रायमाझीसंग पराजित भएकी भुसाल यसपाली समानुपातिकमा सिफरिस भएकी हुन् ।
समानुपातिकमा नेतृ भुसालसहित अर्की प्रभावशाली नेतृ निर्मला क्षेत्री पनि समानुपातिकमा सिफरिस भएकी छिन् । पुर्व प्रदेश सांसद क्षेत्री समेत संभावना बोकेकी नेतृको रुपमा स्थापित छिन् । यसका अलावा मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र बिष्णु प्रसाद अर्याल समानुपातिकमा सिफारिश भएका छन् ।
यस्तै राष्ट्रिय सभामा पुर्व सांसद डा. राम बहादुर बिसी, पुर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पुर्व सभापति पिताम्बर शर्मा भुसाल र नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् ।
