१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

रोल्पाको फुलिवन र सेरम क्षेत्रका करिब ३७४ घरधुरीमा छैन विद्युत सेवा

टेकमन बिष्ट ।
रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–१ अन्तर्गत फुलिवन र सेरम क्षेत्रका करिब ३७४ घरधुरीमा बसोबास गर्ने १,९७२ जनसंख्या आज पनि स्थायी विद्युत् सेवाबाट वञ्चित छन्।

देशभर विद्युत् पहुँच ९८ प्रतिशत नाघेको सरकारी दाबी भइरहँदा यही पालिकाको वडा नम्बर १ का नागरिकहरू भने २२औँ शताब्दीमा आइपुग्दा पनि उज्यालोको आधारभूत सुविधाबाट टाढा छन्। विद्युत् विस्तारका नाममा वर्षौँ अघि पोल गाड्ने र तार तान्ने काम सम्पन्न गरिए पनि अहिलेसम्म एक घरमा पनि राष्ट्रिय प्रसारण लाइनको बत्ती बल्न सकेको छैन। वडा नम्बर १ का फुलिवन र सेरमका बासिन्दा अहिले पनि सोलार, दियो र मैनबत्तीको भरमा रात काट्न बाध्य छन्। करिब दुई हजार जनसंख्या रहेको यो वडामा विद्युत् नहुँदा विद्यार्थीहरूको पढाइ प्रत्यक्ष रूपमा प्रभावित बनेको छ भने मोबाइल चार्ज, सूचना प्राप्ति र सञ्चारसमेत समस्या बनेको छ। डिजिटल नेपाल र प्रविधिमैत्री शिक्षा जस्ता सरकारी नाराहरू यहाँका नागरिकका लागि कागजमै सीमित देखिन्छन्।

विद्युत् अभावले वडा नम्बर १ को स्वास्थ्य सेवामा पनि गम्भीर असर पारेको छ। स्वास्थ्य चौकी भए पनि रातिको समयमा विद्युत् नहुँदा आकस्मिक सेवा दिन कठिनाइ हुने गरेको छ। गर्भवती महिला, जेष्ठ नागरिक र गम्भीर बिरामीलाई अन्धकारमै बोकेर अन्य वडाका स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बाध्यता अझै अन्त्य भएको छैन। यस्तो अवस्थामा हुने जोखिमको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयहरूले उठाएका छन्। खानेपानी, सडक र सञ्चार सेवा पनि वडा नम्बर १ मा पर्याप्त छैनन्। व्यवस्थित खानेपानीको योजना नहुँदा अधिकांश घरधुरी मुहान र खोल्सामा निर्भर छन्।

वर्षायाममा कच्ची सडक हिलाम्मे हुँदा फुलिवन–सेरम क्षेत्र प्रायः गाउँपालिकाको केन्द्रबाट अलग्गिएको जस्तै बन्ने गर्दछ। कमजोर मोबाइल नेटवर्क र इन्टरनेट सेवाले सरकारी सेवा, शिक्षा र सूचनामा पहुँच झन् कठिन बनाएको छ। स्थानीयहरूका अनुसार विद्युत् विस्तारका लागि संघ, प्रदेश र स्थानीय सरकारमार्फत लाखौँ रुपैयाँ बजेट विनियोजन भएको भए पनि त्यसको प्रभाव गाउँमा देखिन सकेको छैन। पोल गाडेर र तार तानेर वर्षौँसम्म बत्ती नबालिनु विकास होइन भन्ने स्थानीयको भनाइ छ।

वडा नम्बर १ का ३७४ घरधुरीका नागरिकहरू आज एउटै प्रश्न सोधिरहेका छन्—योजना कहिले पूरा हुन्छ र हामीले उज्यालो कहिले पाउँछौँ ? विकासका चम्किला तथ्याङ्क र सुनछहरी गाउँपालिका–१ फुलिवन–सेरमको वास्तविक अवस्था बीचको यो गहिरो अन्तर कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित नै छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय