नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गरेका छन् । विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिबार भएको छलफलमा डा.कोइरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिएका हुन् ।
छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आगामी आम निर्वाचनमा पार्टीलाई एकतावद्ध रूपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उनले बताए । सहमहामन्त्री परियारकाअनुसार छलफलमा विशेष महाविधेशन पक्षधरका नेता देवराज चालिसेले विशेष महाधिवेशनका सन्दर्भमा धाराणा राखेका थिए । छलफलमा सहभागी नेताहरुले आगामी निर्वाचनमा काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको परियारले जानकारी दिए ।
विशेष महाधिवेशनका पक्षधहरु नेताहरुसँग डा.कोइरालाले परामर्श गर्ने र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिए । उनले भने, ‘नेता शेखर कोइरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरुसँग बसेर, उहाँसँग परामर्श गरेर एउटा धाराणा बनाएर हामी अगाडी बढ्ने कुरामा आज छलफल टुंगिएको छ ।’
डा. कोइरालाले डाक्नुभएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरु सहभागी रहेका थिए ।
