इंग्ल्यान्डमा हुने द हन्ड्रेड अक्सनमा बिकेनन् सन्दीप

नेपालका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको संयुक्त आयोजना गर्ने द हन्ड्रेडको अक्सनमा बिकेनन् । नयाँ सिजनका द हन्ड्रेड बलमा सन्दीप ड्राफ्टमा परेका थिए । बुधबार–बिहीबार राति लन्डनमै भएको अक्सनमा उनीमाथि कुनै फ्रेन्चाइज टोलीले बोली लगाएनन् । अक्सनको पहिलो दिन सन्दीपको नाम आएको थिएन । दोस्रो दिन उनमाथि बोली लगाउने अपेक्षा थियो । तर, नेपाली क्रिकेटर सन्दीपमाथि कसैले पनि चासो देखाएनन् ।

सन्दीपले द हन्ड्रेड बलमा आफ्नो बेस प्राइस करिब ६२ लाख नेपाली रुपैयाँ राखेका थिए । सन्दीप पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । त्यसवेला भिसा प्रक्रियामा समस्या आउँदा उनले प्रतियोगितामा भाग लिन पाएनन् । चार वर्षअघिको संस्करणमा द हन्ड्रेड बल खेल्न उनी इंग्ल्यान्ड पुगेका थिए ।

तर, भिसा समस्याका कारण उनी त्यतैबाट नेपाल फर्किए । सन् २०२० मा ओभल इन्भिन्सिबलले उनलाई अनुबन्ध गरेको थियो । छैटौँ संस्करण आगामी २१ जुलाईदेखि १६ अगस्टसम्म हुँदै छ । यसपटकको अक्सनमा फ्रेन्चाइज टोलीहरूले गत आइतबार भारतमा भएको १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्राथमिकतामा परेको एजेन्सीहरूले जनाएका छन् ।

समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक टी–२० विश्वकप खेलेको नेपालका लेग स्पिनर सन्दीपले गतिलो प्रदर्शन गर्न सकेनन् । विश्वकपमा सन्दीपबाट एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा थियो । मुम्बईको वानखेडे रंगशालामा सन्दीपले आफ्नो लेग स्पिनको जादु चलाउन सकेनन् । द हन्ड्रेड बलमा अस्टेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडी बिक्री भएका छन् ।

इंग्ल्यान्डका कप्तान ह्यारी महँगा खेलाडी
छैटौँ संस्करणको द हन्ड्रेड बल अक्सनमा इंग्ल्यान्डका कप्तान ह्यारी बुक महँगा खेलाडी बनेका छन् । सनराइजर्स लिड्सले अक्सनमा बुकलाई चार लाख ६५ हजार पाउन्डमा भित्र्याएको छ । १०औँ टी–२० विश्वकपमा बुकले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सुपर ८ मा पाकिस्तानविरुद्ध शतकीय इनिङ्स खेल्ने जित दिलाएका थिए । यसपटक दोस्रो महँगा खेलाडीका रूपमा इंग्ल्यान्डकै ओपनर फिल साल्ट रहे । वेल्स फायरले उनलाई चार लाख ५० हजार पाउन्डमा किनेको हो । द हन्ड्रेड बल अक्सनमा इंग्ल्यान्डका खेलाडी पहिलो प्राथमिकतामा परेका छन् । फ्रेन्चाइज टोलीले टी–२० विश्वकपमा सहभागी भएका खेलाडीलाई अनुबन्ध गर्न राम्रो बोली लगाएका थिए । इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरलाई साउर्थन ब्राभले चार लाख पाउन्डमा किन्यो ।

चार खेलाडीलाई तीन लाख ५० हजार पाउन्ड
दुई दिनसम्म चलेको अक्सनमा चार खेलाडीले समान तीन लाख ५० हजार पाउन्डमा फ्रेन्चाइज टोलीहरूले भित्र्याएका छन् । लन्डन स्प्रिरिटले लिआन लिगिन्स्टोनलाई तीन लाख ५० हजार पाउन्ड खर्चियो । लन्डनले अस्ट्रेलियाका एडम जाम्पामाथि एक लाख ९० हजार पाउन्ड खर्चेर भित्र्याएको छ । यसैगरी, इंग्ल्यान्डका ओपनर जोस बटलर पनि तीन लाख ५० हजार पाउन्डमा म्यानचेस्टर सुपरमा पुगेका छन् । म्यानचेस्टरले दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान हेन्रिक क्लासेनलाई दुई लाख ५० हजार पाउन्ड खर्चेको छ ।

दक्षिण अफ्रिकाका कप्तान एडेन माक्राम दुई लाख पाउन्डमा म्यानचेस्टरमा बिक्री भए । इंग्ल्यान्डका अलराउन्डर साम कुरान पनि तीन लाख ५० हजार पाउन्डमा एमआई लन्डनमा अनुबन्ध भएका छन् । एमआई लन्डनले विश्वकपमा आक्रामक रूपमा ब्याटिङ गरेका विल ज्याकलाई दुई लाख ५० हजार पाउन्ड खर्चियो । यसैगरी, टेन्ट रोक्टर्सले टिम डेभिडलाई तीन लाख ५० हजार पाउन्डमा अनुबन्ध गरेको छ । न्युजिल्यान्डका कप्तान मिचेल साटनर एक लाख ७५ हजार पाउन्डमा टेन्टमा अनुबन्ध भएका छन् । न्युजिल्यान्डका ओपनर फिन एलान टेन्टमा पुग्दा एक लाख ६० हजार पाउन्डमा बिक्री भए । उनले १०औँ टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतकीय इनिङ्स खेलेका थिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय