नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतान्त्रिक अभ्यासका नाममा विगतमा भएका गल्तीहरू अहिले संसद्मा समस्याका रूपमा बल्झिएको बताएका छन्।
विपक्षी वा आलोचकहरूको छाला काढेर त्यसमा नुनचुक छर्कँदा खुसी हुने चेतलाई लोकतान्त्रिक अभ्यास ठान्ने प्रवृत्तिले गर्दा विगतका कतिपय भुलहरू अहिले संसद्मा खिल बनेर पल्टिएको बास्कोटाको तर्क छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले वर्तमान राजनीतिक परिदृश्यमाथि व्यङ्ग्य गर्दै अब त लोकतन्त्र धेरै परिष्कृत भइसकेको उल्लेख गरेका छन्। उनले ढुङ्गाको समेत छाला काढ्न सक्ने सीप भएकाहरू नै अहिले लोकतन्त्रका नयाँ मसिहा बनेर अर्ती-उपदेश पढाउँदै हिँडेको टिप्पणी गरे।
राजनीतिक खिचातानीका कारण संसद् आफै उपेक्षित बनेको सङ्केत गर्दै बास्कोटाले यस्तो अवस्थामा अब आफै उपेक्षित बनेको संसद्ले के उत्तर देला भनी प्रश्न समेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘विपक्षी वा आलोचकको छाला काढेर नुनचुक छर्कँदा खुसी हुने चेतलाई लोकतान्त्रिक अभ्यास ठान्ने विगतका केही भुलहरू अहिले संसद्मा खिल बनेर पल्टिए। अब त लोकतन्त्र यति परिष्कृत भएछ कि ढुङ्गाको छाला काढ्ने सीप भएकाहरू लोकतन्त्रका नयाँ मसिहा बनेर पढाउँदै छन्। आफै उपेक्षित संसद्ले के उत्तर देला?’
