नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लेटर प्याडमा नेपाल क्रिकेट संघलाई पत्र पठाएको भन्ने विषयमा राखेपबाट नभई कार्यदलबाट लेटरहेड प्रयोग भएको जनाएको छ।
कार्यदललाई आफ्नो कार्यक्षेत्रभित्र रहि काम गर्न र परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद्प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन गरेको छ।
गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ। छानविन राष्ट्रिय खेलकुद परिषदले नभइ खेलकुद मन्त्रीले गठन गरेको कार्यदलले गरिरहेको छ।
लिगमा अनियमितता भएको भन्दै लिग सुरू हुनुअघि नै अख्तियारमा उजुरी परिसकेको थियो। टेन्डर प्रक्रिया लगायतका विषयमा कानुनविपरित सम्झौता भएको भन्दै गत मंसिर ७ गते पहिलो उजुरी परेको थियो।
यस्तै लिग सकिएको दुई महिनापछि अर्को उजुरी पर्यो। दोस्रो उजुरी परेपछि अख्तियारले गत फागुन १२ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
अख्तियारले उजुरीका सम्बन्धमा पत्राचार गरेपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले गत जेठ ११ गते राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रन्जना प्रधानको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानविन कार्यदल गठन गरेका थिए।
तर यो समितिले राष्ट्रिय खेलकुद परिषदको लेटर हेडमा पत्र पठाएपछि राष्ट्रिय खेलकुद आपत्ति जनाएको हो। खेलकुद परिषदका कार्यकारी सदस्य सचिव टंकलाल घिसिङले यसअघि नै कार्यदलको विषयमा अनविज्ञता प्रकट गरेका थिए।
कार्यदलले सोधेका प्रश्न क्यानले गत असार २ गते कार्यदलको प्रश्नको उत्तर समेत पठाएको थियो। तर माग गरिएका आवश्यक कागजात, सूचना र तथ्य प्रदान गर्न क्यान असक्षम नभएको र ‘झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भइ सतही उत्तर प्रदान’ गरेको भन्दै कार्यदलले असन्तुष्टि प्रकट गरेको थियो।
