
- दिल्लीले राजस्थानलाई ५ विकेटले हराउँदै प्लेअफको सम्भावना जीवितै राखेको छ।
- पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको प्लेअफमा प्रवेश गरेको छ।
- आईपीएल अन्तर्गत आज चेन्नई र हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ । हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेकाे थियो ।
दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए । यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।
यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) आईपीएलको प्लेअफमा पुगेको छ । धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ । पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो ।
आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ ।
