पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले सक्रिय राजनीतिमा पुनरागमनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेकी छन्।
भण्डारी सक्रिय राजनीतिमा आउँदा महिला नेतृत्व वर्गमा उत्साह छाएको कोइरालाको भनाइ छ। ‘पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको सक्रिय राजनितीमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,’ कोइरालाले भनेकी छन्।
उनले भण्डारीको प्रशंसा गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत भनेकी छन्। ‘उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई आगामी राजनितिक यात्राको लागि हार्दिक शुभकामना,’ कोइरालाले भनेकी छन्।
दुई कार्यकाल राष्ट्रपति रहेकी भण्डारीले गत असर १४ गते सक्रिय पार्टी राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। त्यसयता त्यस सम्बन्धमा तर्क-वितर्क चलिरहेको छ। अधिकांशले राष्ट्रपति भइसकेको व्यक्ति पुन: पार्टी राजनीतिमा फर्किनु व्यवस्थामाथिकै धावाका रूपमा व्याख्या गरिरहँदा कोइरालाले भने त्यसको स्वागत गरेकी हुन्।
