इटहरी गोल्डकपः साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

समाचार सारांश
Auto Generated by AI
  • झापा ११ लाई सडेनडेथमा हराउँदै मछिन्द्र क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी र सडेनडेथबाट निर्णय भएको हो।
  • सेमिफाइनलमा अब मछिन्द्रले आगामी शुक्रबार युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ।

साविक विजेता मछिन्द्र फुटबल क्लब इटहरीमा जारी १६ औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटहरी वडा नं. ९ को रंगशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । यसअघि मछिन्द्रले दुईपटक उपाधि उचालि सकेको छ । १५ औं संस्करणमा मछिन्द्रले सगरमाथा युथ क्लब मोरङलाई हराएर उपाधि हात पारेको थियो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टीमले १–१ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।  पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो ।

सडेनडेथमा मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए ।  यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए ।

झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु, सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगर र विशाल मादीले प्रहार गरेको वल आकाशिएको थियो ।

खेलमा मछिन्द्र क्लबका सनिस श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय