
- नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ।
- जेठ मसान्तसम्म संगठनात्मक समायोजन र साउनसम्म सदस्यता विस्तारको काम सकिनेछ।
- भदौदेखि कात्तिक महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरिनेछ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महाधिवेशनको मिति तोकेको छ।
तत्कालीन माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने गरी आयोजक कमिटीमा रूपान्तरण गरे पनि एकीकृत समाजवादीसँग एकता गरेपछि महाधिवेशन धकेलिएको थियो।
आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्नेृ गरी कार्यतालिका बनाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सक्न निर्देशन दिइएको छ। असार र साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण र विस्तारको काम सक्ने निर्णय गरिएको ज्वालाले बताए।
भदौ १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने, भदौ १६ देखि भदौ मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए।असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय भएको उनले बताए,
दस्तावेज र प्रतिनिधिसम्बन्धी आवश्यक व्यवस्था कार्यसमिति बैठकबाट निर्णय गरिने र कार्यविधि तहगत कमिटीमा पठाइने पनि उनले बताए।
