
- नेइमारले ट्रेनिङका क्रममा सहकर्मी रोविन्हो जुनियरलाई थप्पड हानेकोमा सार्वजनिक माफी मागेका छन्।
- आफ्नो व्यवहार नियन्त्रण बाहिर गएको स्वीकार गर्दै उनले यसलाई खेलको एक अंश भनेका छन्।
- दुई खेलाडीबीचको विवाद मिलेको छ र उनीहरूले मैदानमा अङ्गालो हालेर सम्बन्ध सुधारिएको संकेत दिएका छन्।
ब्राजिलियन फुटबल स्टार नेइमारले सान्तोस क्लबका आफ्ना सहकर्मी रोविन्हो जुनियरलाई थप्पड हानेकोमा सार्वजनिक रूपमा माफी मागेका छन्। ट्रेनिङका क्रममा १८ वर्षका ती युवा खेलाडीलाई कुटेपछि नेइमारले आफूले ‘सीमा नाघेको’ स्वीकार गरेका हुन्।
आइतबार ट्रेनिङका क्रममा १८ वर्षीय फरवार्ड रोविन्हो जुनियरले ३४ वर्षीय नेइमारलाई छलाएर अगाडि बढेका थिए। त्यसपछि रिसको झोँकमा नेइमारले उनको अनुहारमा जोडले थप्पड हानेका थिए।
यो घटनापछि क्लबले छानबिन सुरु गरेको थियो। तर मंगलबार क्लबले दुवै खेलाडीबीचको विवाद मिलेको जानकारी दिएको छ।
मंगलबार भएको कोपा सुडामेरिकाको खेलमा गोल गरेपछि नेइमारले मैदान बाहिर रहेका रोविन्हो जुनियरलाई अङ्गालो हालेर आफूहरूबीच सम्बन्ध सुधारिएको संकेत दिए। रोविन्हो जुनियर नेइमारका पुराना साथी तथा म्यानचेस्टर सिटीका पूर्व खेलाडी रोविन्होका छोरा हुन्।
नेइमारले आफ्नो गल्ती स्वीकार गर्दै भने, ‘यदि मिडियाको अगाडि माफी चाहिएको हो भने, म माफी माग्छु। मैले अलि बढी नै प्रतिक्रिया दिएँ। मैले आफ्नो संयम गुमाएको थिएँ। मान्छेबाट गल्ती हुन्छ, यो मेरो गल्ती थियो। फुटबलमा कहिलेकाहीँ आफ्नै साथी वा भाइसँग झगडा हुन्छ, यो खेलकै एउटा हिस्सा हो।’
रोविन्हो जुनियरले नेइमारले तुरुन्तै आफ्नो गल्ती महसुस गरेर धेरै पटक माफी मागेको बताए। उनले भने, ‘म सानैदेखि नेइमारलाई आफ्नो आदर्श मान्थेँ, त्यसैले उहाँले त्यसो गर्दा मलाई दुःख लागेको थियो। तर अहिले हामीबीच कुरा मिलिसकेको छ, म ठिक छु।’
