
- हर्क साम्पाङले देशभर सडक मापदण्डका नाममा भइरहेको घर भत्काउने कार्यलाई डोजर आतंक भनेका छन्।
- विकासका नाममा जनताको बासस्थान उजाडेर मानवीय संवेदनाविहीन काम नगर्न उनले सरकारलाई चेतावनी दिएका छन्।
- जनता आतंकित हुँदा र व्यवसायी निरुत्साहित हुँदा देशको अर्थतन्त्र नै धराशायी हुनेतर्फ उनले सचेत गराएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकभर बढ्दै गएको डोजर आतंकले आम नागरिकमा त्रास फैलाएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विनासकारी विकासको साटो मानवीय संवेदनालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।
अध्यक्ष साम्पाङले वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुल, बुटवल, हेटौंडा र काठमाडौंका सामाखुसी तथा सीतापाइला लगायतका क्षेत्रमा सडक मापदण्डका नाममा भइरहेको घर भत्काउने कार्य केवल डोजर आतंक भएको बताए।
उनले भने, ‘जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारले विकासका नाममा जनताकै बासस्थान उजाड बनाउनु विडम्बनापूर्ण छ। के सबै घर भत्काएर र मान्छेलाई सडकमा पुर्याएर मात्रै विकास हुने हो ?’
उनले बोल्न नसक्ने भगवानका मन्दिर, गुम्बा, गिर्जाघर र विद्यालयहरू भत्काइएकोमा आपत्ति जनाए। उनले प्रश्न गरे, ‘के यो सरकार निर्जीव सरकार हो ? जसले जीवित जनताका आस्था र संस्कारलाई मेटाउन कसम खाएर आएको छ ?’
जनता आतंकित हुँदा र व्यवसायीहरू निरुत्साहित बन्दा देशको अर्थतन्त्र नै धराशायी हुनेतर्फ उनले सचेत गराए।
