देउवा समूहको महाधिवेशनमा महामन्त्रीका आकांक्षी खुल्दै

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहबाट रमेश लेखक, मोहनबहादुर बस्नेत, कुन्दनराज काफ्लेलगायतका नेताहरूले महामन्त्री पदमा उम्मेदवारी दिने आन्तरिक तयारी थालेका छन्।
  • सो समूहले विधान संशोधन गरी पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ जसमा एक महिलासहित चारजनासम्म महामन्त्री राख्ने सम्भावना रहेको छ।
  • देउवा समूहको महाधिवेशन आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंको खुलामञ्चमा विद्युतीय मेसिन प्रयोग गरेर हुने तय भएको छ।

कांग्रेसको देउवा समूहको १५ औं महाधिवेशन नजिकिँदै गर्दा महामन्त्रीका आकांक्षीहरू पनि देखिन थालेका छन् ।

२१ मंसिरदेखि सुरु हुने महाधिवेशनमा पूर्व केन्द्रीय सदस्य र केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेकासम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका छन् ।देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।

महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखकले १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने चाहना राखेका छन् ।

उनले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिनेबारे निकटस्थहरूलाई बताइसकेका छन् ।

स्रोतका अनुसार नेता लेखकले उम्मेदवारीका विषयमा नेता एनपी साउद र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग छलफल गरिसकेका छन् ।

‘रमेश दाइले हामीसँग महामन्त्रीमा उम्मेदवारी दिने भन्नुभएको छ,’ उनीनिकट एक महाधिवेशन प्रतिनिधिले भने, ‘यसबारेमा एनपी दाइ र वीरबहादुर दाइसँग पनि कुरा गर्नुभएको छ ।’

ती महाधिवेशन प्रतिनिधिका अनुसार छलफलमा नेताद्वय साउद र बलायरले महामन्त्रीमा उम्मेदवारी नदिने बताएपछि लेखक महामन्त्रीमा उम्मेदवार बन्न तयार भएका हुन् ।

गृहमन्त्री हुँदा सचिवालयमा काम गरिसकेका स्रोतअनुसार नेता लेखकले महामन्त्रीका लागि आन्तरिक तयारीमा जुट्न भनिसकेका छन् ।

१४औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रहेका लेखक गत भदौमा सम्पन्न देउवा समूहको राष्ट्रिय भेलामा विधान समिति संयोजक थिए ।

देउवा समूहका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । निकटस्थ स्रोतले पूर्वकेन्द्रीय सदस्य बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेको जानकारी दिएको छ ।

बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले पनि महामन्त्रीका आकांक्षी छन् । उनी १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विभिन्न जिल्ला र प्रदेश अधिवेशनहरूमा सहभागी हुँदै आएका काफ्ले महामन्त्रीका लागि मत माग्दै आएका छन् ।

उनले प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि औपचारिक रुपमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिए । ‘प्रदेश अधिवेशन सकिएपछि घोषणा गर्छु,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘अहिले त महामन्त्री भन्दै हिँडेको छु । साथीहरू के मा उठ्ने भन्नुहुन्छ, महामन्त्रीमा भोट हाल्नुहोला भनिरहेको छु ।’

यस्तै १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता गुरु बरालले पनि आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘महामन्त्री पदको उम्मेदवार हो ।’

राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत पनि देउवा समूहका महामन्त्रीका आकांक्षी हुन् । जिल्ला अधिवेशनका लागि रौतहट पुगेको बस्नेतले आफू महामन्त्रीको उम्मेदवार भएको बताए ।

‘म अहिले रौतहतको अधिवेशनमा छु । महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ उनले अनलाइनखबरसँग भने, ‘म त साथीहरूसँग महामन्त्रीका लागि मत माग्दै हिँडेको छु ।’

नेता बस्नेत नेपाल तरुण दलको अध्यक्ष रहँदा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वकेन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पनि महामन्त्रीको आकाक्षां राख्ने नेताको सूचीमा पर्दछन् । देउवा समूहका नेताहरूले उनी पनि आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

यस्तै युवा नेता भुपेन्द्रजंग शाही पनि महामन्त्रीको तयारीमा लागेका छन् । उनी सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेर विभिन्न जिल्लाहरूमा पुगिरहेका छन् ।

नेता शाही १४औं महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्याशी थिए । तत्कालीन समयमा उनी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।

नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीलाई कांग्रेसले दोस्रो संविधानसभा र प्रतिनिधिसभा निर्वाचन २०७४ मा कालिकोटमा उम्मेदवार बनाएको थियो ।

१४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता उमाकान्त चौधरी पनि सम्भावित महामन्त्रीका उम्मेदवार हुन् । यद्यपि, उनले उम्मेदवारीको विषयमा मुख खोलेका छैनन् ।

प्रदेश अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेका कारण उम्मेदवारीको विषयमा नेताहरू मुखरित भइनसकेको देउवा समूहकानेताहरूको भनाइ छ । प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि पदाधिकारीका आकांक्षीहरू खुल्ने नेताहरू बताउँछन् ।

देउवा समूहले विधान संशोधन गरेर पदाधिकारीहरूको संख्या बढाउने तयारी गरेको छ । स्रोतका अनुसार उक्त समूहले उपसभापति र महामन्त्रीमा दुई–दुई जना बढाउने तयारी गरेको छ ।

‘विधान संशोधनको काम भइरहेको छ । पदाधिकारीको संख्या बढ्न सक्छ,’ विधान मस्यौदा समिति सदस्य रंगमती शाहीले भनिन् ।

एक महिलासहित चार उपसभापति र एक महिलासमित चार महामन्त्री रहने व्यवस्था विधानमा गर्ने सम्भावना रहेको देउवा समूहका नेताहरू बताउँछन् । यो समूहले नेता शिव हुमागाईंको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

देउवा समूहले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा उक्त समूहको अधिवेशन सम्पन्न भइसकेको छ ।

गण्डकीको अधिवेशनबाट प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र लुम्बिनी अधिवेशनबाट रोज राणा निर्वाचित भएका महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए ।

उनका अनुसार १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोशी र १८ मंसिरमा बागमती प्रदेश अधिवेशन हुने भएको छ ।

देउवा समूहले २१–२३ मंसिरमा काठमाडौंको खुलामञ्चमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको नेता कुइँकेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: