सुकुमवासीलाई सेल्टरमा खाना बन्द, अभियन्ताले सडकमै खुवाए

समाचार सारांश
Auto Generated by AI
  • भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुमवासीले खाना बन्द भएपछि सडकमा नै बसेर खाएका छन्।
  • प्रशासनले सेन्टर खाली गर्न दिएको निर्देशन र वैकल्पिक व्यवस्था नभएको भन्दै उनीहरू विरोधमा उत्रिएका छन्।
  • सरकारले सात महिनाअघि अस्थायी बसोबास दिए पनि हालसम्म स्थायी व्यवस्थापन भने गर्न सकेको छैन।

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले आज सडकमा बसेर खाना खाएका छन् ।

हिजोदेखि सेन्टरमा खाना बन्द भएपछि आज बिहान बाहिरबाट खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले भित्र प्रवेश गर्न दिएन । त्यसपछि उनीहरूले सेन्टरबाहिरै सडकमा खाना बाँडेका हुन् । बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जना सडकमा बसेर खाना खान बाध्य भएका हुन् ।

गत वैशाखमा थापाथली, गैरीगाउँ र मनोहरा लगायतका नदी किनारका बस्तीबाट हटाइएका सुकुमवासीलाई सरकारले काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो । उनीहरू सात महिनादेखि ती स्थानमा बस्दै आएका छन् । बोडेमा बस्दै आएकाहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । त्यसअघि सुरक्षाकर्मीले माइकिङ गरेर पनि ठाउँ छाड्न भनेका थिए ।

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुमवासीले प्रशासनको निर्देशनको विरोध गर्दै आएका छन् । उनीहरूले बिहीबार रित्तो थाल ठटाएर प्रदर्शनसमेत गरेका थिए ।

प्रशासनका अनुसार त्यहाँ बस्दै आएका १९ परिवारमध्ये सात परिवार भूमिहीन होइनन् भने १२ परिवारले सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने निस्सा पाएका छन् । भूमि समस्या समाधान समितिबाट प्राप्त अभिलेखका आधारमा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको प्रशासनको भनाइ छ ।

तर, सुकुमवासीले अभिलेखमा नाम देखिएकै आधारमा आफूहरूलाई भूमिहीन नरहेको निष्कर्षमा नपुग्न र प्रत्येक परिवारको वास्तविक अवस्था छानबिन गर्न माग गर्दै आएका छन् । सरकारले बस्तीबाट हटाइएकाहरूको लगत संकलन गरी १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि सात महिनासम्म स्थायी आवासको व्यवस्था हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: