साना व्यवसायीलाई विशेष राहत

  
साना व्यवसायीलाई विशेष राहत

जनकपुरधाम । प्रदेश २ सरकारले ‘नवप्रवर्तन कृषि रोजगार तथा उद्यमशीलता विकास’ कार्यक्रम ल्याएको छ।  आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई अनुदान दिने भएको हो। नवप्रवर्तनकारी व्यवसाय सञ्चालन गर्नेले सुरुवाती पुँजी र ऋणमा लाग्ने ब्याजमा अनुदान पाउनेछन्। 

‘नवप्रवर्तन कृषि, उद्यममा लगानीयोग्य पुँजी जुटाउन नसकेका उद्यमी वा आविष्कारकर्तालाई सहुलियत कर्जा प्रदान गर्न लागेका हौं,’ भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले भने। यस्ता उद्यम गर्न चाहनेले व्यावसायिक योजनासहित प्रस्ताव पेस गर्नु पर्नेछ। 

कार्यविधिअनुसार आफूले गर्न खोजेको आविष्कार, उद्यम, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक रकम, अपेक्षा गरेको कर्जा, सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नु पर्नेछ। ५० हजारसम्म सुरुवाती पुँजी आवश्यक पर्ने नवप्रवर्तनीय सोचको परियोजनालाई शतप्रतिशत पुँजी, बिमा प्रिमियम, अनुदान र तालिम, बजार व्यवस्थापनसहितका टेवा प्रदान गरिनेछ। सोभन्दा बढी तीन लाखसम्म आवश्यक पर्ने परियोजनाको पुँजीमा ७५ र बाँकी शतप्रतिशत निब्र्याजी ऋण, बैंकको सेवा शुल्क र बिमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्नेछ। 

तीन लाखभन्दा बढी २५ लाखसम्म, २५ देखि ५० लाख सम्म, ५० देखि ७५ लाखसम्म तथा ७५ देखि १ करोडसम्मको ऋणमा ब्याज अनुदान, सेवा शुल्क र बिमाको प्रिमियम उपलब्ध गराइनेछ। करोडभन्दा बढी ऋण परिचालन हुने परियोजनालाई कार्यक्रममा नसमेटिने मन्त्रालयका प्रवक्ता ललन सिंहले जानकारी दिए। 

कर्जा स्वीकृत गर्दा बैंकले आविष्कारकर्ता, उद्यमी वा व्यवसायीको जमानी, कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोका रूपमा लिनेछ। 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय