बिरमान कहिले बन्ने कुलमान ?

चोकचोकमा र सामाजिक संजालमा पनी विद्युतको अनियमितताको चर्चा

  
बिरमान कहिले बन्ने कुलमान ?

अर्घाखाँची । सन्धिखर्कका चोकचोकमा विद्युतको अनियमितताका बारेमा चर्चा चलेको सुनिन्छ । शान्तीबगैंचा अँगाडी कतिपयले कुलमान घिसिङ्गको तारिफ गर्दै विद्युतिय क्षेत्रमा उनले गरेको योगदानको चर्चा गर्दै थिए । त्यसमध्ये एक जनाले कुलमानको अवकास हुने बेला आएकाले लाईनले पुरानै अवस्था देखाउन थालेको बताईरहेका थिए । ‘उनको रिटायर्ड हुने बेला भाछ, पुरानै अनुहारहरुको हालिमोहाली हुन्छ अनी कसरि नियमित होस् त लाईन ?’ उनी गफ गर्दै थिए ।
विद्युत प्राधिकरणका बारेमा यस्तै गफले अर्घाखाँचीमा स्थान पाई रहेको छ । सामाजिक संजालमा पनी विद्युत प्राधिकरणको अनियमित विद्युत आपुर्तीबारे आलोचना भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको अनियमित विद्युत आपूर्तिले नागरिक हैरान भएका छन् । जिल्लाका सबैप्राय ठाँउमा अनियमित विद्युत आपूर्तिले नागरिक सास्ती खेप्न बाध्य छन् । बिगत १५ दिनदेखी विद्युत नियमित नहुँदा यहाँका विद्युतबाट चल्ने केही उद्योग, छापाखाना, सञ्चारमाध्यम, बैंक तथा वित्तिय संस्था र लिफ्टिङ्ग खानेपानीलाई पनी समस्या देखिएको छ । अनियमित आपुर्ती संगै लाइन लो भोल्टेज र हाई भोल्टेज देखाउने गरेको छ । दैनिक २० औं पटक सम्म विद्युत आउने जाने गरेको शितगंगा–४, जोगिनीकोटकी बिमला आचार्यले बताईन् । ‘दिनको २० पटक सम्म लाईन जान्छ, एकदम लापरवाही भएको छ,उनले भनिन्,‘कहिले हाइ भोल्टेज आउछ, कहिले लो हुन्छ, विद्युतबाट चलाउने सामान चलाउन समेत डर छ ।’
अनियमित आपूर्तिले धेरै विद्युतिय उपकरणहरु बिग्रिएको भुमिकास्थान–९, ढिकुराका भरत घिमिरेले बताए । ‘घरमा बजिरहेको रेडियो पड्कियो, उनले भने,‘मोबाईलमा चार्ज पनी कहिले उतीबेलै फुल हुन्छ, कहिले दिनभरीमा हुँदैन ।’
अत्याधिक गर्मीका कारण राम्रोगरी पंखा चलाउन नपाएको सन्धिखर्कका वासिन्दाको गुनासो छ । सन्धिखर्क–१, बैंकरोडमा बस्ने संगिता भुसालका अनुसार दिनमा त अनियमित छ नै, रातीमा समेत चार–पाँच पटक सम्म विद्युत जाने आउने गर्छ । बर्षयाम भरी लाईन ठिकठाक चल्ने तर, गर्मिको समयमा सँधै यस्तै हुनेगरेको स्थानियको गुनासो छ । विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ्गले दाबी गरेको ठीक उल्टो निति लिएर उपभोक्तालाई दुखः दिइरहेको कतिपय सेवाग्राहीको आरोप छ ।
समस्या पक्कैपनी अहिले मात्रको होईन । बर्षौदेखी यहाँका स्थानियले यो समस्या भोग्दै आएका छन् । यसै विषयमा लुम्बिनी पोस्टकर्मीले नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीसंग कुरा गरेका छन् ।

बिरमान जी, कुलमान बन्न बाट चुक्नु भयो भन्ने जनताको गुनासो छ नी ?
कुलमान भन्नाले ?

नेपाल विद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङ्गले सेवाबाट जुन नाम कमाउनु भयो नी, त्यस्तै सेवा दिन सक्नु भएन कि ? सेवालाई प्रभावकारी बनाउन सक्नु भएन कि ? भन्ने जनताको आरोप ।
हाहाहा... उहाँ जस्तो व्यक्तित्वसंग मलाई दाँज्न त मिल्दैन । अहिले लाईनमा अली बढी डिस्र्टबेन्स भईरहेको प्रती प्रश्न होला । यो डिस्र्टबेन्स एउटा यही कुराले वा यही फ्याक्टरले हो भन्न सक्ने अवस्था छैन । हाम्रो जिल्लामा चारवटा सबस्टेशनहरु निर्माणाधिन छन्, त्यो संचालनमा आएपछी धेरै समस्या यहींबाट अन्त्य हुनेछन् । प्राविधिक पाटो भएकाले सबै कुरा भन्न सम्भव हुँदैन र भनेर सबैले बुझ्छन् भन्ने पनी छैन । अनेक जिल्ला भएर हाम्रो विद्युत आउँछ, लामो लामो क्षेत्रसम्म एउटै स्टेशनले हेर्न पर्ने अवस्थामा यो त्यती अस्वभाविक पनी होईन । र जनताले गुनासो गर्नु पनी स्वभाविक रुपमै लिएको छु ।

जनताको गुनासो सम्बोधन गर्नु पर्दैन ? उनीहरु कहिलेसम्म रोईकराई गरिरहनु पर्ने ?
उहाँहरुको गुनासो... मैले भनिहालें चारवटा सबस्टेशनहरु निर्माणाधिन छन्, त्यो संचालनमा आएपछी अधिकांश समस्याको हल त्यही हो । अर्को प्राविधिक कुरा जिल्लामा अहिले ३३ केभी र ११ केभीका लाईनहरु प्रसारणमा छन् । जिल्लाभरीको विद्युत सबस्टेशन नहुँदा एकै ठाउँबाट वितरण भईरहेको छ । जिल्लामा एक ठाँउ लाईनमा समस्या आउँदा वा बिग्रदा जिल्लाभरीकै लाईन काट्नुपर्ने अवस्था छ । त्यस्ले गर्दा अधिकांश क्षेत्रमा विद्युत काटिन्छ । मुल समस्या यही हो ।
अर्को कुरा, बोझ बोकाएर हिंडाले जस्तो अवस्थाको हाम्रो जिल्लाको विद्युत छ । लाईन अनुसारको प्राविधिक संरचना छैन । सिमित क्षेत्रमा ट्रान्सफर्मर हुनुपर्ने, सिमित क्षेत्रमा सबस्टेशन हुनुपर्ने, कर्मचारी पुर्तीको समस्या, प्राविधिकहरुको समस्या, भौगोलिक कारण यो सबैले गर्दा लाईनमा डिस्र्टबेन्स छ । र हामी हर सम्भव प्रयत्न गरिरहेका छौं । कतिपय प्राविधिक पक्षका कुरामा जटिलता अवश्य पनी छन् । क्रमशः हल गर्दै अँगाडी बढ्छौं ।

बिगत १२–१५ दिनदेखी अर्घाखाँचीको लाईनमा अत्याधिक कटौती भईरहेको छ । यस्ले गर्दा नागरिकले सास्ती खेप्नुपरेको छ । गुनासो पनी व्यापक छन् । बर्खा मौसममा लाईन सहज हुने हिंउदमा लाईन नआउने, किन ?
यो समस्या हिंउद वा बर्खा भन्नेसंग त्यती सरोकार नराख्ला । हाम्रो खासगरी ४–५ ठाउँ हुँदै लाईन आउँछ । एउटा पाल्पाहुँदै आउँछ जुन पाणिनी गाउँपालिकाका कतिपय भेगहरुमा छ । गुल्मीबाट दुईवटा प्रसारण लाईन आएका छन् । जुन छत्रदेवका भेगहरुमा छ । अर्को दाङ्ग–लमहीको लाईन पनी आएको छ जुन शितगंगाका भेगहरुमा छ । कपिलवस्तुबाट आएको लाईन डोहोंटे र पत्थरकोट आसपासमा छ । अनी मुख्य झिम्रुकबाट आउँछ । झिम्रुकमा पनी समस्या नै छ । प्युँठानमा पनी सबस्टेशन छैनन् । निर्माणाधिन छन् तर, सञ्चालनमा आएका छैनन् । एक सय ५० भन्दा बढी त्यहाँ ट्रान्सफर्मर छन् । अर्घाखाँचीमा दुई सय १५ भन्दा बढी ट्रान्सफर्मरहरु छन् । ३३ केभीका ९० र ११ केभीका १२५ भन्दा बढी ट्रान्सफर्मरहरु भएको ठाउँमा एउटा ट्रान्सफर्मरमा समस्या आउँदा दुईओटै जिल्लाको लाईन काटिन्छ ।

यो अघोषित् लोडसेडिङ्ग नै हो भन्छन् नी जनता ?
हो भन्छन् । जिल्लाका अधिकांश बुद्धिजिवी र पत्रकारहरुकै मुखबाट पनी मैले सुनेको छु । तर, यो लोडसेडिङ्ग होईन । यो विद्युत समस्या नै हो । लामोदुरीबाट लाईन आउँदा र लाईन अनुसारको प्राविधिक संरचना नहुँदा समस्या भएको हो, लोडसेडिङ्ग छैन र होइन ।

अरु के के समस्या छ ?
मुल समस्या यिनै हुन् मैले भनिसकें । कर्मचारी पनी अभाव नै छ । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा हामी ३४ जना स्थाई कर्मचारी छौं । जुन अपर्याप्त नै हो । हाम्रा ग्राहक ३७ हजार नाघेका छन् । अन्य जिल्लाको तुलना गर्ने हो भने ८०¬–९० जना कर्मचारी हुनुपर्ने हो । भौगोलिक कारण, रुखका समस्या, प्राविधिक कारण थुप्रै छन् ।

विद्युतको भोल्टेज लो र हाई हुन्छ बेला बेलामा । कतिपयका विद्युतिय सामाग्री कामै नलाग्ने भएका छन् । किन यस्तो हुन्छ ?
यो समस्या अहिलेको बर्ष भन्दा पोहोर साल बढी देखिएको थियो । यस्को प्रमुख कारण सिस्टम भोल्टेज नै हो । यो बर्ष त्यती गिरेको छैन । हाईड्रोपावर बाट नै लाईन आउँदा थोरै आउने धेरै आउने हुन्छ, त्यसैलाई सिस्टम भोल्टेज भन्छौं हामी । गत बर्ष ३३ केभी आउनु पर्ने २६ सम्म आउँथ्यो, यो बर्ष त्यती तल झरेको छैन । अर्को कारण भनेको रुखका हाँगाबिंगाले डिस्टर्ब गरेर पनी हुन्छ । रुखका हाँगा, डालोहरुले छोईदिने ग¥यो भनेपनी लाईन तलमाथी हुन्छ । अर्को कारण भनेको, अँघी भनेजस्तै हाम्रो जिल्लामा दुई सय १५ भन्दा बढी ट्रान्सफर्मरहरु छन् । दुई किलोमिटरको दुरीमा ट्रान्सफर्मर हुनुपर्ने, त्यो छैन । प्रत्येक दुई किलोमिटर भित्रनै ट्रान्सफर्मरहरु हुनुपर्ने हो, त्यो नभएका कारणले पनी भोल्टेजको समस्या छ ।

समस्याको हल कहिले सम्म होला ?
समय नै तोक्नु भन्दा काम छिटो गरौं भन्ने हो । जिल्लामा बन्न लागेका चार वटा सबस्टेशनहरु छिटो सम्पन्न गर्नु छ । एउटा पाणिनी गाउँपालिकाको दुर्गाफाँट, एउटा मालारानी गाउँपालिकाको हंसपुर, एउटा शितगंगा नगरपालिकाको ठाडामा बन्दै छ । यी ३ वटा स्टेशनहरुको काम छिटै सम्पन्न हुन्छ । ३३/११ प्रसारण लाईनका हुन् यी सबस्टेशनहरु । अर्को जुन सन्धिखर्कको फुदबाङ्गमा निर्माणाधिन् छ, त्यसलाई समय लाग्छ । फुदबाङ्गको १३२/३३ प्रसारण लाईनको हो । यसै सबस्टेशनबाट जिल्लाभर विद्युत वितरण हुनेछ ।
अन्य समस्या पनी क्रमशः हल हुन्छन् । सँधैभरी समस्या हुँदैन । नागरिक स्तरबाट आक्रोश आउनु स्वभाविकै हो । हामी प्रयत्नरत छौं । सिमित स्रोतसाधनका बावजुत हाम्रो टिमले काम गरिरहेको छ । तर, लोडसेडिङ्ग हो, लापरवाही हो भन्ने हिसाबले नबुझ्दिन आग्रह गर्छु ।

अन्तिममा, कुलमान जीले स्याबासी पाएजस्तै तँपाई र तँपाईको टिमले स्याबासी पाउने कहिले ?
सबै कुरा हामीले चाहेजस्तो हुन नसक्दो रैछ । हामी फिल्डै खटेका छौं, कसरी हुन्छ हामी प्रयासरतनै छौं । र विद्युतका क्षेत्रमा धेरै कामहरु भएका छन् । त्यस्को रिजल्ट देखिन केही समय लाग्ला तर, कामको गती सन्तोषजनक छ । अन्य जिल्लामा जस्तो यहाँ हुकिङ्ग र चुहावटका समस्या छैनन् । कम छ । आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ५.५३ प्रतिशत चुहावट छ । यो भनेको अत्यन्तै न्युन हो र जिल्लाका लागी खुशिको कुरा पनी हो ।
२०७६/०७७ भित्र यस जिल्लालाई पुर्ण विद्युतिकरण गर्ने योजना थियो । कोभिड लगायतका कारणले पछाडी धकेलिएको छ । हाल ६१ वटा वडामै विद्युत त पुगेको छ तर कतिपय बस्तीहरु अझैपनी अन्धाकार छन् । छिटै ति बस्तिहरुमा विद्युत विस्तार गरिने छ । थुप्रै प्रोजेक्टहरुले काम गरिरहेका छन् । आशा गरौं छिटै गुनासोरहित सेवा प्रदान गर्ने छौं ।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय