३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ मा बाबु-छोरीको कथा

मैले कसरी धड्कनविना मुटु चलाउने

मैले कसरी तिमीविना मन यो बुझाउने

यहाँ छन् धेरै जिउँदै जलाउने

मनमा आँधीहुरी चलाउने

तिमी नै भन

मैले कसरी तिमीविना जीवन चलाउने

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ का शब्द हुन् यी । प्रेमपीडा र जिम्मेवारीको भाव बोकेको यो गीतमा गोविन्द कँडेल ‘आँसु’ को शब्द र हरि लम्सालको संगीत छ । गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित समारोहमा गायक एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकहरु यम बराल, हेमन्त शर्मा लगायतले गीतको भिडियो सार्वजनिक गरे ।

गीत सार्वजनिकपछि बोल्दै उपकुलपति राईले गायक रामकृष्ण ढकालका गीत सधैं स्तरीय हुने भन्दै शुभकामना दिए । ‘रामकृष्ण भाइ र मैले देश-विदेशका धेरै ठाउँमा स्टेज सेयर गरेका छौं । उहाँका गीत सधैं स्तरीय हुन्छन् । यो गीतका लागि पनि म शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

गायक रामकृष्ण ढकालले सधैं आउने युगल जोडीको मायाप्रेम र विछोडका गीत भन्दा फरक ढंगले नयाँ गीत ल्याएको बताए । ‘मायाप्रेमका गीत त धेरै आए । यसपटक अलि फरक ढंगको गीत बनाउने कोसिस गरेका हौं । यसमा बुबा(आमाको सम्बन्धविच्छेदपछि सन्तानमा पर्ने असर र एकल अभिभावकले निभाउने चुनौतीपूर्ण भूमिकाको भावमा गीत र भिडियो प्रस्तुत गरेका छौं,’ उनले भने, ‘यो मैले गाइरहेको शैली भन्दा थोरै फरक कम्पोजको गीत पनि हो यो । आशा छ अघिल्ला सिर्जना जस्तै यसलाई पनि श्रोता-दर्शकले रुचाउनुहुनेछ ।’

गीतको भिडियोमा रामकृष्ण आफैं र बाल कलाकार आर्या वाणीले अभिनय गरेका छन् । उनीहरु बाबु र छोरीको भूमिकामा छन् । भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी हुन् । कार्यक्रममा भिडियो निर्देशक सापकोटाले आफ्नो यो पहिलो प्रयास भएको बताइन् । भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।

गीतलाई ‘रामकृष्ण ढकाल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय