नेपाली निर्माताले फिल्म निर्माणमा बर्सेनि डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी खन्याउने गरेको देखिएको छ । चलचित्र विकास बोर्डमा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका फिल्महरुको सूचीले यो तथ्य देखाएको हो ।
नेपालमा फिल्म निर्माणपूर्व चलचित्र विकास बोर्डमा लागत घोषणासहित निर्माण अनुमति लिनुपर्ने प्रावधान छ । बोर्डको तथ्याङ्कमा आर्थिक वर्ष २०८०/०८१ (गत वर्षको साउनदेखि यो असारमसान्तसम्म) बोर्डबाट निर्माण अनुमति लिने फिल्मको सङ्ख्या १ सय ५५ रहेका छन् । ती सबै फिल्मले निर्माण इजाजत लिँदा घोषणा गरेको निर्माण लागत जोड्दा एक अर्ब ८६ करोड ५२ लाख रुपैयाँ हुन आउँछ ।
- १० लाखदेखि ५ करोडसम्म लगानी
नेपालमा फिल्म निर्माणका लागि यति लागत भए पुग्छ भन्ने छैन । यहाँ निर्माण हुने फिल्म अनुसार निर्माण लागत फरक–फरक छन् । गत आर्थिक वर्ष चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिने १ सय ५५ फिल्ममा धेरै फिचर र केही भाषाभाषीका चलचित्रसमेत छन् ।
ती फिल्ममा प्रत्येक फिल्मको निर्माण लागत फरक–फरक छन् । तथ्याङ्क अनुसार सबैभन्दा थोरै १० लाखदेखि सबैभन्दा बढी ५ करोडसम्मका फिल्म निर्माण घोषणा भएको देखिन्छ ।
पारिजात नेपाल रेकर्डिङ स्टुडियो प्रालिले सबैभन्दा थोरै १० लाख निर्माण लागत घोषणा गर्दै फिल्म ‘दायाँ बायाँ’ का लागि इजाजत लिएको देखिन्छ भने सबैभन्दा बढी ५ करोड निर्माण लगानी घोषणा गर्दै आर्ट मुभिज प्रालिले फिल्म ‘सिड्नी ब्लुज’ र स्वर्णिमा फिल्मस् प्रालिले फिल्म ‘हृदयको यात्रा’ का लागि इजाजत लिएको देखिन्छ ।
- ४ देखि ५ करोडका फिल्म कति ?
फिल्म निर्माण जतिबढी लगानी त्यति बढी जोखिम छ । यो नेपाली निर्माता निर्देशकले राम्रोसँग बुझेको विषय हो । तर पनि आँखा चिम्लिएर लगानी गर्ने निर्माता पनि छन् । गत आर्थिक वर्षमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिने फिल्मको सूचीले पनि यस्तै देखाउँछ । यो सूचीमा एकै फिल्मका लागि ४ देखि ५ करोड लगानी घोषणा भएको देखिएको छ ।
५ करोड निर्माण लागत घोषणा भएका ‘सिड्नी ब्लुज’ र ‘हृदयको यात्रा’ पछि ४ करोड निर्माण लागत घोषणा गर्ने फिल्मको सङ्ख्या पनि दुईवटै छन् । ती फिल्म हुन् ‘ब्ल्याक हर्स पिक्चर्स प्रालीको ‘बेहुली फ्रम मेघौली’ र सम्पदा संस्कृति फिल्मस् प्रालिको ‘प्यार के लिए’ रहेको छ ।
- ३ करोडका ६ फिल्म
तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३ करोड निर्माण लागत घोषणा गर्ने फिल्म ६ वटा छन् । ती फिल्ममा पद्मा ईश्वर इन्टरटनमेन्ट प्रालिको ‘यो मन त मेरो नेपाली हो’, उतरगाया म्युजिक एण्ड फिल्म प्रोडक्सनको ‘कंगारु’, सिनेमा आर्ट प्रालिको ‘फेरि रेशम फिलिली’, गलबन्दी प्रोडक्सनको ‘बसन्त’, एविड्ज नेपा प्रालिको ‘मेयर सिंह’, एम मिडिया प्रालिको ‘लाँकुरी’ रहेका छन् ।
यी मध्ये ‘यो मन त मेरो नेपाली हो’, ‘फेरि रेशम फिलिलि’ निर्माण पुरा भएर प्रदर्शनको पर्खाइमा छन् भने अन्य फिल्म निर्माण प्रक्रियामा छन् ।
- कति बन्छन् घोषणाका फिल्म ?
चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने फिल्मको सङ्ख्या बर्सेनि औसत १५० देखि १६० सम्म हुने गरेको छ । तर निर्माण भएर प्रदर्शनमा आउने फिल्मको सङ्ख्या ८० देखि एक सयसम्म मात्र छन् । चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी पनि बोर्डमा दर्ता भएका सबै फिल्म नबन्ने गरेको बताउँछन् ।
‘केही आइडिया आयो, नाम राम्रो लाग्यो भने फिल्म दर्ता गर्छन्’, बुढाथोकीले भने, ‘बिना तयारी दर्ता गर्नेले पनि छन् ।’ मिडियामा छाउन र चर्चा कमाउन फिल्म घोषणा गर्ने समेत रहेको बुढाथोकीको धारणा छ । ‘कतिपयले राम्रो नाम ओगट्नसमेत दर्ता गर्ने र हराउने गरेका छन्’, बुढाथोकीले थपे ।