महिला एसिया कप क्रिकेटमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ । श्रीलंकाले लिग चरणको अन्तिम खेलमा थाइल्यान्डलाई सजिलै १० विकेटले पराजित गर्यो ।
यसअघि बंगलादेश मलेसियाविरुद्धको खेलमा सजिलै विजयी रह्यो । श्रीलंका समूह ‘बी’ को खेलमा लगातार तेस्रो जितपछि शीर्षमा रह्यो भने बंगलादेश दोस्रो स्थानमा रह्यो । अब पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता भारतले बंगलादेशको सामना गर्नेछ । श्रीलंका भने पाकिस्तानविरुद्ध भिड्ने छ ।
थाइल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । त्यसलाई पछ्याउन श्रीलंकालाई गाह्रो भएन । ओपनरद्वय विष्मी
गुणरत्ने र चामरी अथापट्टुले नटआउट रहेर ठोस साझेदारी गरेका थिए । टिमले जित आत्मसात् गर्दा ११.३ ओभरको मात्र खेल सकिएको थियो । चामरीले ३५ बलमा ४९ रन बनाइन् । उनले दुई चौका र चार छक्का प्रहार गरिन् । विष्मीले ३४ बलमा ३९ रन बनाइन् । त्यसमा चार चौका र एक छक्का सामेल थियो ।
थाइल्यान्डबाट नानापाट कोनचारोएकाईले सर्वाधिक ४७ रन बनाइन् । उनकै यो प्रदर्शनमा थाई टिम सम्मानजनक स्कोर खडा गर्न सफल रह्यो । उनले ५३ बलको बहादुरीपूर्ण इनिङ्समा ५ चौका प्रहार गरिन् । श्रीलंकाली बलरमध्ये काभिसा दिलहरी सबैभन्दा सटिक रहिन् । उनले ४ ओभरमा १३ रनमात्र खर्चेर २ विकेट हात पारिन् । अरू बलर पनि उत्तिकै प्रभावशाली रहे ।
बुधबार पहिलो खेलमा बंगलादेशले मलेसियालाई १ सय १४ रनको ठूलो अन्तरले हराएको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले २ विकेटमा १ सय ९१ रन बनाएको थियो । त्यसमा ओपनर मुर्सिदा खातुनले ५९ बलमा ८० रन बनाइन् । उनी नै प्लेयर अफ द म्याच भइन् । उनलाई कप्तान निगर सुल्तानले बलियो साथ दिइन् । उनले ३७ बलमा नटआउट ६२ रन बनाइन् ।
मुर्सिदाले १० चौका र एक छक्का प्रहार गरिन् । निगरको ब्याटबाट ५ चौका र २ छक्का निस्केको थियो । अर्का ओपनर दिलारा अख्तरले ३३ रनको योगदान दिइन् । जवाफमा मलेसियाली टिमले ८ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । इल्सा हन्टरको २० रन नै त्यसमा सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । बंगलादेशी बलरमध्ये नाहिदा अख्तरले १३ रनमा २ विकेट लिइन् ।
