२२ कार्तिक २०८१, बिहिबार
२२ कार्तिक २०८१, बिहिबार

दीपेन्द्र र रोहितले ग्लोबल टी–२० लिगमा एक खेल गुमाउने

भिसा समयमै नआउँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यानडाको चर्चित फ्रेन्चाइज ग्लोबल टी–२० लिगको एक खेल गुमाउने भएका छन् । भिसा आउन ढिला भएकाले दीपेन्द्र र रोहितले पहिलो खेल गुमाउने निश्चित भएको हो । ग्लोबल टी–२० लिग शुक्रबारदेखि सुरु हुनेछ । रोहितको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिग हो । उनलाई टोरोन्टो नेसनल्सले १६ लाखमा अनुबन्ध गरेको छ ।

टी–२० लिगमा सहभागी हुन दीपेन्द्र बुधबार राति नयाँदिल्लीबाट क्यानडा गएका छन् । कप्तान रोहित बिहीबार मात्र त्यसतर्फ प्रस्थान गर्नेछन् । लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि आबद्ध छन् । सन्दीप गत साता नै क्यानडा पुगिसके । दीपेन्द्र र सन्दीप भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन् । सन्दीपलाई ४० लाख तथा दीपेन्द्रलाई २४ लाखमा भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले सन् २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।

सो सिजनमा उनी आबद्ध मोन्ट्रियलले उपाधि जितेको थियो । विश्वको चर्चित अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगको अनुभव बटुलेका सन्दीपले यसअघि क्यानडाको ग्लोबल टी–२० मा मोन्ट्रियल र टोरोन्टोबाट खेलेका थिए । उनी तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्दै छन् । लिगको उद्घाटन खेलमा शुक्रबार टोरोन्टो र भ्यानकुभरले प्रतिस्पर्धा गर्नेछन् । न्युजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो सेफर्ड र दक्षिण अफ्रिकाका भ्यान डर डसन टोरोन्टोमा रहेका छन् ।

सन्दीप र दीपेन्द्रसँगै भ्यानकुभरमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानसमेत रहेका छन् । तर, पाकिस्तानी क्रिकेट बोर्डले बाबर र रिजवानलाई लिग खेल्ने अनुमति दिएको छैन । यसकारण यी दुवै खेलाडीले लिग गुमाउनेछन् । यस टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यानजस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियससमेत रहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय