नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आइतबार दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताए।
पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गरे। उनले भने, ‘पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन्। पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशङ्का छ।’
पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सकेमात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले विसं २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताए। त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उनको भनाइ थियो।
भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा कोइरालाले बताए। उनले भने, ‘भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ। जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन।’ दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताए।
नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताए। पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गरे।