आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ ।
आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।
जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुरु हरफबाट सुरु भएको टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार-चढाव झल्काइएको छ ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डीसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।
फिल्मका निर्देशक राजबहादुर साने हुन् । तुल्सी देवी फिल्म्स् प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जनको छ ।