३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

बुढा नेताको हातमा विश्वको भविष्य

एउटा संवेदनशील विषय ‘उमेरवाद’ बारे चर्चा गरौं। आधुनिक इतिहासमा कहिल्यै यति धेरै वृद्धले विश्वको भविष्य नियन्त्रण गरेका थिएनन्। भ्लादिमिर पुटिन र सी चिनफिङ दुवै ७२ वर्षका छन् । नरेन्द्र मोदी ७४, बेञ्जामिन नेतान्याहु ७५, डोनाल्ड ट्रम्प ७९ र अली खोमेनी ८६ वर्षका छन्।

चिकित्सकीय प्रगतिका कारण मानिस अब दीर्घ र सक्रिय जीवन जिउन सक्षम भएको छ। यही क्रममा वृद्ध नेताहरूले सत्ता अझ कसिलो पार्दै लगेको हामीले देखिरहेका छौं। आफ्ना युवा सहकर्मीहरूलाई पन्छाउँदै उनीहरू यो भूमिकामा छन्।

यसै साता नेटोको शिखर सम्मेलनमा सहभागी नेतामा इम्यानुएल म्याक्रोँ र मेट्टे फ्रेडरिक्सन  (दुवै ४७ वर्ष), जोर्जा मिलोनी (४८), पेद्रो सान्चेज (५३) जस्ता युवा नेता पनि थिए। डोनाल्ड ट्रम्पको सैनिक खर्च थप गर्नुपर्ने माग स्वीकार गर्न यी सबै बाध्य भए। त्यसो त नेटो नेताहरूको औसत उमेर ६० वर्ष छ। जर्मनीका फ्रेडरिक मर्ज ६९, टर्कीका रेचेप तैयप एर्दोगन ७१ वर्षका छन्।

नेटोका सबै राष्ट्रले पाँच प्रतिशत रक्षा खर्चको नयाँ लक्ष्य स्वीकार गरेका छन्। यसका लागि कुनै गहिरो सैन्य कारण थिएन, न त यो विषयमा लोकतान्त्रिक बहस नै भएको भयो। यो नीतिभन्दा बढी एक सन्की (मुडी) वृद्ध पुरुष नेताप्रतिको विनम्रता थियो। नेटोका महासचिव मर्क रुट्ट (५८ वर्ष) ले ट्रम्पलाई ‘ड्याडी’ भन्दै सम्बोधन गरे। यो कूटनीति थिएन, आत्मसमर्पण थियो।

त्यसो त पुस्तागत द्वन्द्व अन्य क्षेत्रमा पनि देखिन्छ। युक्रेनका ४७ वर्षीय राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुटिनको साम्राज्यवादी स्वप्नको सामना गर्दै छन्। सी चिनफिङ, आफू भन्दा सात वर्ष कान्छा ताइवानका राष्ट्रपतिसँग द्वन्द्वमा छन्।

७४ वर्षका नेतान्याहुले गाजामा विनाश गरिरहेका छन्। गाजामा जनसंख्याको करिब आधा भाग १८ वर्ष मुनिको छ। जनसंख्याको औसत उमेर मात्र ३२ रहेको इरानमा ८६ वर्षका शासक छन्। क्यामरुनका ९२ वर्षीय पाऊल बिया सन्  १९८२ देखि सत्तामा छन्, जहाँ औसत उमेर ६२ मात्र छ।

यो वृद्ध शासकहरू मिलेर बनाएको गोप्य योजना होइन। दोस्रो विश्व युद्धपछिको प्रणालीले बनाएका नेताको यही पुस्ताले आजको विश्वलाई भत्काइरहेको छ। भविश्यमा हुने विनाश उनीहरू आफैंले देख्न पाउनेछैनन्। इरानी नेता खोमेनी दोस्रो विश्वयुद्ध सकिँदा ६ वर्षका मात्र थिए।

ट्रम्प १९४६ मा जन्मिएका थिए, त्यही वर्ष संयुक्त राष्ट्रसंघको पहिलो महासभा भएको थियो। नेतान्याहु इजरायल स्थापना भएको एक वर्षपछि जन्मिएका थिए। मोदी १९५० मा जन्मेका थिए, त्यसबेला भारत गणतन्त्र भइसकेको थियो। स्टालिनको मृत्यु हुनु केही महिना अघि अर्थात् १९५२ को अक्टोबरमा पुटिन जन्मेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङ १९५३ को जुनमा जन्मेका हुन्। टर्की नेटोमा सामेल भएको दुई वर्ष भएपछि अर्थात् सन् १९५४ मा एर्दाेगान जन्मेका थिए।

यसरी हेर्दा यी सबै नेताहरू लडाइँपछिको शान्तिकालका सन्तान हुन् । आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा अहिले उनीहरू त्यही शान्तिका आधारहरू तोड्न लागेका छन्।

नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था व्यवहारमा सधैं झन्झटिलो बनिरह्यो। त्यसको एउटा नैतिक ढाँचा थियो – कमजोर भए पनि इमानदारिता त्यसको आधार थियो। यसले विश्व युद्धहरू दोहोरिन नदिन वार्ता र कूटनीतिलाई प्राथमिकता दिएको थियो। अहिले त्यो विश्वास हराउँदै गएको छ। चिन्ताको विषय के हो भने शान्तिलाई महत्त्व दिनुपर्ने यिनै नेताहरूले यसको मूल्यलाई आत्मसात गरेका छैनन्।

अहिलेको समय अभूतपूर्व छ। हिटलर, मुसोलिनी, स्टालिन, माओ-जस्ता नेता जतिबेला सत्तामा आए, उमेरका हिसाबले उनीहरू ३० र ४० को दशकका थिए। नेतृत्वको त्यही नयाँ पुस्ताले नयाँ विश्व बनाएका थिए। आजको नयाँ विश्वलाई एउटा वृद्ध पुस्ताले भत्काइरहेको छ, यो पुस्ताले आफूले छोडेको भग्नावशेष देख्न पाउने छैन। खनिज उत्खननलाई प्राथमिकता दिएर ‘ड्रिल, बेबी, ड्रिल’ भनेर चिच्याउन सजिलो हुन्छ तर त्यही नीतिले निम्त्याउने जलवायु विनाशको सबैभन्दा खराब परिणाम यी नेताले भोग्नुपर्ने छैन। यो कार्य ‘हामीपछि जस्तोसुकै होस्’, भन्ने फ्रान्सेली भनाइसँग मिल्दछ।

हामी आशा गर्न सक्छौं, दीर्घ जीवन पाएको नेतृत्वको यो पुस्ताले करुणा, कृतज्ञता र विश्व सेवाको भावना छोडेर जानुपर्ने हो। यसको सट्टा हामी दमन, हिंसा, नरसंहार, पारिस्थितिक विनाश र अन्तर्राष्ट्रिय कानुनको अवहेलनाको पुनरागमन देखिरहेका छौं। यो प्रायः तीनै वृद्ध नेताहरूको कारण भइरहेकोछ, जो शान्ति स्थापनाभन्दा आफूलाई भविश्यमा लाग्नसक्ने अभियोगबाट बच्न उद्यत् छन्। यद्यपि यो अवस्थालाई परिवर्तन गर्नै सकिँदैन भन्ने चाहिँ होइन।

नेल्सन मण्डेलाले पदत्याग गरेपछि ‘द एल्डर्स’ भन्ने संस्था स्थापना गरेका छन्, जुन पूर्व विश्व नेताहरूको एक सञ्जाल हो। यसले शान्ति, न्याय र मानवअधिकार प्रवर्धन गर्छ। सहमति र बुढापाकाको ज्ञानलाई उच्च सम्मान गर्ने अफ्रिकी परम्पराबाट प्रेरित भएर यो सन्जाल स्थापना भएको थियो। उमेरले शक्ति मात्र होइन स्पष्ट दृष्टि, सहानुभूति र नैतिकता ल्याउन सक्छ।

समस्या उमेर होइन – त्यसलाई कसले कसरी प्रयोग गरिरहेका छन् भन्ने विषय महत्त्वपूर्ण हो। विश्वलाई सत्तालोलुप थप वृद्ध होइन, त्याग गर्न सक्ने वृद्धहरू चाहिएको छ – जसले सही मार्गदर्शन गर्न सक्छन्, जसले व्यक्तिगत महिमा मात्र होइन, छाडेर जाने बिरासतका बारेमा सोच्छन्। आजको ‘उमेरको युग’ मा हामीलाई चाहिएको कुरा प्रभुत्व होइन, बुद्धिमत्ता हो। अन्ततः एक शासक र एक नेताबीचको भिन्नता पनि त्यही हो।

– रेब्रुक एक प्रख्यात बेल्जियन सांस्कृतिक इतिहासकार र पुरातत्वविद् पनि हुन्।(गार्डियनबाट) 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय