१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

आउन थाले तीज गीत

गायिका शान्तिश्री परियारको स्वरमा यस वर्षका तीजगीत सार्वजनिक हुन थालिसकेका छन्।

बुधबारसम्म ‘माया’, ‘मरे आमै’, ‘अभागी छोरी’ लगायत गीत उनको स्वरमा आएका छन्। अन्य गीतहरू पनि आउने तयारीमा छन्। अर्की गायिका समीक्षा अधिकारीलाई पनि तीज लागिसकेको छ। उनले रातो साडीमा सजिएर खिचेका केही तस्बिर फेसबुकमा राख्दै लेखेकी छन्– तीज लाग्यो है!

समीक्षाको स्वरमा पनि तीजगीत आउन थालिसकेका छन्। उनीद्वारा स्वरबद्ध ‘मेरो जवानीले पार्‍यो अलमल’, ‘माइतीको दैलो’ बोलका गीत युट्युबमा सार्वजनिक छन्। देवीका केसीले ‘साइँली छोरी’ बोलको गीत ल्याइसकेकी छन्।

सर्जक तथा गायक कस्तुप पन्तले ‘सबैको हाइ हाइ बन्न सकिँदैन’ बोलको गीत सार्वजनिक गरेका छन्। यसमा एलिना चौहानले स्वर दिएकी छन्।

गायिका कोमल ओलीको तीजगीत केही दिनमै सार्वजनिक हुँदैछ। यसपालि उनले ‘सुनिदेऊ शिव’ बोलको गीत ल्याउँदैछिन्।  तीज आउन डेढ महिना बढी समय बाँकी भए पनि कलाकारहरूलाई केही समय अगाडिदेखि नै तीजगीतको चटारोले छोइसकेको छ।

रेकर्डिङ र छायांकनको काम असार नलाग्दै सुरू भइसकेका थिए। असार १५ सँगै युट्युबमा तीजगीतका भिडिओ सार्वजनिक हुन थालेका छन्। रेकर्डिङ र छायांकनका काम पनि चलिरहेका छन्।

मोडल तथा कोरियोग्राफर शंकर बिसी आफूले २ हप्ता अघिदेखि तीजगीतको छायांकन सुरू गरेको बताए। ‘आजसम्म ८ वटा तीजगीतको भिडिओ सकेँ। ती गीतको भिडिओ सार्वजनिक पनि हुन थालिसकेका छन्। आज पनि छायांकन छ। अरू ४/५ वटा गीत पनि तय भइसकेका छन्,’ उनले भने।

तीजको सिजनमा शंकरको व्यस्तता विगतमा यतिसम्म हुन्थ्यो, उनले एकै वर्ष ८०/९० वटा तीजगीतमा काम गर्थे। पछिल्लो दुई वर्षयता भने तीजगीत निर्माण घट्दो क्रममा रहेको उनको बुझाइ छ।

‘विगतमा लोकदोहोरी मात्र होइन्, अन्य विधाका गायिकाले पनि प्रत्येक वर्ष तीजको गीत निकालेकै पाइन्थ्यो। गीत ल्याउने प्रतिस्पर्धा नै चल्थ्यो। अहिले धेरै कम छ,’ उनले भने।

तीजगीत भन्नासाथ छुटाउनै नहुने गायकमा पर्छन् पशुपति शर्मा। यस वर्ष भने उनका तीजगीत कम आउनेछन्। कारण, विगतमा उनले अरूको सिर्जनामा पनि तीजगीत गाउँदै आएका थिए। यसपालि भने आफ्नो सिर्जनामा मात्रै तीजगीत गाउने उनले बताए।

‘म त भर्खरै रेकर्डिङको तयारी गर्दै छु। यसपालि अरूको गीत नगाउने भएकाले मेरा २/३ वटा मात्रै तीजगीत आउलान्!,’ पशुपतिले सेतोपाटीसँग भने। पशुपतिसँगै खुमन अधिकारी, खेम सेञ्चुरी, देवी घर्ती, सुनिता दुलाल, सम्झना भण्डारी, राधिका हमाल, शर्मिला गुरूङ, पूर्णकला बिसी, सुनिता बुढा क्षेत्री लगायत गायक/गायिका तीजगीतमा धेरै व्यस्त हुनेमध्येमा पर्छन्।

पछिल्लो पुस्ताका चर्चित गायिकाहरू एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारीले पनि तीजगीत गाउँदै आएका छन्। यसपालि पनि नयाँ गीत ल्याउँदैछन्।

एलिनाले दुई गायिकाहरू समीक्षा अधिकारी र मेलिना मैनालीसँग सहकार्य गर्दै आफ्नै युट्युब च्यानलबाट तीजगीत ल्याउन लागेकी छन्। भिडिओ छायांकन समेत भइसकेको गीत छिट्टै सार्वजनिक हुने एलिनाले बताइन्।

त्यस्तै, एलिना, रचना र अर्की गायिका इन्द्रकला राईको सहकार्यमा पनि तीजगीत आउनेछ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले समेत तीजगीत ल्याउँदैछन्। उनले गायिका मञ्जु पौडेलसँगको सहकार्यमा तीजगीत ल्याउन लागेका हुन्। अन्य गायक/गायिका पनि तीजगीतको तयारीमा छन्।

कलाकारहरूलाई तीजगीतको चटारो सुरू भए पनि विगतमा जस्तो चहलपहल भने नभएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा बताउँछिन्।

उनले भनिन्, ‘विगतमा १०/१२ वटा तीजगीत गाउनेहरू प्रशस्तै हुनुहुन्थ्यो। यसपालि उहाँहरूले पनि कम गाउने बताउनुभएको छ। विगतमा खुलेर लगानी गर्नेहरू यसपालि त्यति जुर्मुराएको जस्तो लागेन।’

पछिल्लो समय गीतमा लगानी बढेको छ। भिडिओसहित ल्याउँदा लगानी ३ लाख रूपैयाँभन्दा बढी पुग्छ। तर तीजका गीत तीजको दिनसम्मका लागि मात्रै हेरिन्छन्, सुनिन्छन्। तीजका गीत छोटो समयका लागि आउने भएकाले पनि लगानीकर्ताहरू पछि हटेको हुनसक्ने रीताको बुझाइ छ।

‘अरू सदाबहार गीत वर्षैभरि चल्न सक्छन्। तीजको गीतको भने समय कम हुनाले पनि लगानीकर्ताहरू धेरै उत्साहित नहुनुभएको हो कि भन्ने लाग्छ,’ रीताले भनिन्।

गत वर्ष तीज विशेष भनेर ३ सय हाराहारी गीत आएको अनुमान थियो। यस वर्ष त्यो संख्या धेरै कम हुने रीताको अनुमान छ।

तीज भन्नासाथ विष्णु माझी, हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, सिन्धु मल्लहरूको नाम अगाडि आउँछ। तर पछिल्ला वर्ष विष्णु माझीबाहेक अरूका गीत कमै आउने गरेका छन्। आए पनि कमैले चर्चा पाउने गरेका छन्।

विष्णु माझीले हरेक वर्ष तीजगीत ल्याउने गरेकाले पनि स्रोता तथा दर्शकहरू उनको गीतको प्रतीक्षामा हुन्छन्। उनका गीतहरू असाध्यै चर्चामा समेत आउँछन्।

तीजमा रेकर्डिङ र छायांकनको चहलपहल छँदैछ, तीज विशेष कार्यक्रममा गायक/गायिकाको व्यस्तता उस्तै हुने गरेको छ।

तीजगीतमा रूचाइएकाहरू यो समयमा खासगरी विदेश दौडाहामा हुन्छन्।

कतिपय त पाँच/छ महिना अगाडि नै विदेशका कार्यक्रमका लागि ‘बुक’ भइसकेका हुन्छन्। यसपालि पनि थुप्रै कलाकारहरूले विदेश टुर तय गरिसकेका छन्। विदेश कार्यक्रममा जानुपर्ने भएकाले पनि कलाकारहरूले अलि पहिल्यै गीत रेकर्डिङ र छायांकन सक्ने गरेका हुन्।

पशुपति शर्मा, शान्तिश्री परियार, खेम सेञ्चुरी, सुनिता दुलाल, देवी घर्ती, रचना रिमाल, सुनीता बुढा क्षेत्रीलगायतले तीजमा विदेशमा रहेका नेपालीहरू झुमाउने पक्का भइसकेको छ।

यस वर्ष हरितालिका तीज भदौ १० गते परेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय