नेपाली कांग्रेसका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूले कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्ने पूर्वपदाधिकारीहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। उनीहरूले संविधान संशोधन प्रक्रिया अघि बढाउन सुझाए।
संविधान संशोधनको जगमा कांग्रेस र एमालेबिच सत्ता साझेदारीका लागि सात बुँदे सहमति भएको हो। सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न नसके गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने तर्क उनीहरूले राखे।
पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस र एमालेबिच सत्ता सहकार्यको मुख्य ध्येय नै संविधान संशोधन रहे पनि सरकार बनेको एक वर्ष हुँदासमेत संविधान संशोधनमा कुनै काम हुन नसकेको गुनासो गरे। उनले संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता बनाउनुपर्ने तर्क गरे।
संघीय संसद्को अहिलेको बनावट परिवर्तन गर्नुपर्नेमा जोड दिँदै कोइरालाले अहिलेको निर्वाचन प्रणाली ठिक नभएको तर्क गरे। प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रियसभा समानुपातिक बनाउनुपर्ने धारणा राख्दै कोइरालाले जनताको मनोभाव बुझेर काम गर्नुपर्ने बताए।
मन्त्रीहरूले जनताको आवाज र भावनालाई बुझ्न नसकेको उनले गुनासो गरे। पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एकताबद्ध बनाउने भन्दै दिएको अभिव्यक्तिको प्रशंसा गर्दै कोइरालालेश् कांग्रेस एक भए कसैले पनि हराउन नसक्ने दाबी गरे।
सहमहामन्त्री जीवन परियारले पार्टीको अगुवाइमा संविधान संशेधनका लागि समिति गठनको प्रस्ताव बैठकमा गरे। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दलीय सहमतिका आधारमा संविधान संशोधनलाई अघि बढाउनुपर्ने धारणा राखे। संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीका विषयमा गरेको फैसलाप्रति सिटौलाले घुमाउरो ढंगबाट असन्तुष्टि जनाएको स्रोतको दाबी छ।
चार वर्षअघि दर्ता भएको मुद्दामा अहिले फैसला भएको र प्रधानन्यायाधीश अल्पमतमा परेको उल्लेख गर्दै सिटौलाले सबै तहका अदालतका बारेमा समीक्षा गर्ने बेला आएको तर्क गरेको स्रोतको दाबी छ। पार्टी सभापति देउवाको ‘रिटायर्ड’ हुने धारणा बाहिर आएको प्रसंग कोट्याउँदै पूर्वउपसभापति विमलेन्द्र निधिले ‘रिटायर्ड’ राष्ट्रपति राजनीतिमा फर्किन थालेको धारणा राखे।
त्यसलाई पार्टीले मनन गर्नुपर्ने तर्क गर्दै निधिले भने, ‘पूर्वराष्ट्रपति एमाले राजनीतिमा आउने कुरा भएको छ। यसले एमाले विभाजित हुन्छ कि, टुक्राटुक्रा हुन्छ कि त्यो फरक विषय हो। तर प्रणालीको बारेमा कांग्रेसले यसलाई नोटिसमा लिनुपर्छ।’
अर्का पूर्वउपसभापति गोपालमान श्रेष्ठले एमाले र माओवादी केन्द्रले भ्रष्टाचारका मुद्दा लागेका सबै नेतालाई जोगाएको धारणा राखे। तर कांग्रेसका नेताहरूले एकपछि अर्को गर्दै मुद्दा खेपिरहेको बताउँदै श्रेष्ठले कसैलाई काखा, कसैलाई पाखा नगर्न आग्रह गरे। ‘माओवादीले आफ्ना मानिसलाई जोगाएको छ, दोषी ठहर भइसकेका मानिसलाई जोगायो। एमालेले पनि जोगाइराखेको छ,’ श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले भने, ‘हाम्रा खुमबहादुर खड्कादेखि विजयकुमार गच्छदारलाई मुद्दा लाग्यो। चिरञ्जीवी वाग्लेलाई मुद्दा लाग्यो। अरूले जोगाएका छन्, हामीले हाम्रा साथीहरूलाई जोगाउन किन सकेनौं?’
केन्द्रीय सदस्य मीनेन्द्र रिजालले महाधिवेशन प्रतिनिधि मात्रै छनोट गरेर सभापति चयन गर्ने गरी विधान संशोधन प्रस्ताव अघि सारेका छन्। उनका अनुसार पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरौं, महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौं। रिजालले दोस्रो चरणमा विधान संशोधन गर्दा सभापति हुने व्यक्तिले विधान संशोधनको प्रस्ताव ल्याउनुपर्ने बताए। ‘जुन जुन तह राख्न खोजेको हो, त्यही अनुसारको प्रस्ताव होला,’ रिजाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आमनिर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ।’
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको धारणा राख्दै रिजाललाई उद्धृत गर्दै बैठकमा सहभागि एक सदस्यले भने, ‘महाधिवेशन प्रतिनिधि उत्पादन गर्न भ्रातृ संस्था गठन गर्यौं, भाग मिलाउन गठन गर्यौं। तर न भ्रातृ संस्थाले पार्टी संगठन बलियो बनाउँछ न जनसम्पर्क समितिले पार्टी संगठन बलियो बनाउँछ।’ पार्टी लोकतान्त्रिकभन्दा पनि अराजक हुन थालेको रिजालले बताए।
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरे। अब प्रधानमन्त्री बनेपछि गर्ने काम र निर्णयका विषयमा पर्याप्त पूर्वतयारी हुनुपर्नेमा जोड दिँदै भण्डारीले पार्टीका भ्रातृ संगठन मनोनीत प्रथाले कामकाजी हुन नसकेको बताए। नेताहरूबिच द्वन्द्व हुँदा हाँसेर रमिता हेर्नेभन्दा पनि मिलाउनेतर्फ लाग्नुपर्ने धारणा राख्दै भण्डारीले भने, ‘सामाजिक सञ्जालमा उठेका विषयवस्तुलाई हामीले नजिकबाट नियाल्ने र सुन्ने गर्नुपर्छ, तिनै तहका सरकारको कामकारबाहीलाई निर्मम समीक्षा गरेर सुधारतर्फ लाग्नुपर्छ।’
केन्द्रीय सदस्य एनपी साउदले २०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नभएको गुनासो गरे। वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै साउदले भने, ‘हेर्दाहेर्दै २०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’ उनले संविधान संशेधन प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए।