३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

झोले मानसिकता र गिर्दो नैतिकता !

गायत्री लम्साल । अचेल हामीमा काम गर्ने बानी हराउँदै गएको छ । आफूले खाएको थाल उठाउन लाज लाग्छ । देखाउनकै लागि समेत फजुल खर्च गरेर आडम्बर प्रदर्शन गर्दा निकै मज्जा आउँछ । झ्याप्पै धनी बन्न मन लाग्छ । आफूबाहेक अरूलाई राम्रो र गतिलो मान्न हाम्रो मनले मान्दै मान्दैन ।

आफू र आफ्नाले जे गरे पनि राम्रो अनि अरूले राम्रो गर्दासमेत हाम्रो आँखाले नराम्रै देख्छ । अरूका कुरा काटिएन भने के–के छुट्यो भन्ने आभास हुन्छ । आफूलाई कसैले सित्तैमा मूल्य दिएपछि उसैको झोले बनेर हिँड्दा ठूलो भएको भान हुन्छ । शैक्षिक योग्यतामा कमजोर हुनेहरूसमेत चाकरी र चाप्लुसी गर्नमा निकै अगाडि पर्छन् ।

समय र देशकाल परिस्थिति जस्तोसुकै भए तापनि आफ्नो मात्र फाइदा गर्न खोज्ने हाम्रो मानसिकतालाई मैले यहाँ झोले भन्न खोजेकी हुँ । मात्रात्मक रूपमा केही कम र केही बढी होला तर हामी सबैमा कुनै न कुनै रूपमा झोले मानसिकता छ । विशेष गरी नेतृत्व वर्ग, सिङ्गो कर्मचारीतन्त्र, निजी क्षेत्र, नागरिक समाज अनि आमनागरिकमा समेत झोले मानसिकताले नराम्रोसँग जरा गाडेको छ ।

हाम्रो सोचाइमा यति धेरै खोट कहाँबाट पलायो ? कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा मानिन्छ । अचेल सरकारका तन्त्रहरू त फेरिएका छन् तर कर्मचारीतन्त्रको जनविश्वास झन् गुम्दै गइरहेको छ । नागरिकको घरदैलो, चुलोचौकामा नजिकबाट सेवा प्रवाह गर्ने कर्मचारीमा नैतिकताको खडेरी पर्दै गएको छ । आफूलाई पायक पर्ने ठाउँमा, आफूलाई विभिन्न फाइदा आउने ठाउँमा सरुवा हुनका लागि चाकरी र चाप्लुसी गर्नेहरूको जमात ठूलो छ । त्यसैले थोरै संख्यामा रहेका इमानदार कर्मचारी ओझेलमा परेका छन् । अझ भन्दा हरेक क्षेत्रमा निकै मिहिनेती र इमानदार मानिसले नै दुःख पाउने पद्धति निर्माण हुँदै गएको छ ।

एकातिर हरेक क्षेत्रमा अल्छी मानसिकता विकास हुँदै गएको छ भने अर्कातिर नैतिकता लोप हुँदै गइरहेको छ । धेरै टाढा नजाऔं ! केही दिनअघि प्रतिनिधिसभाबाट पारित भएको निजामती विधेयकलाई नै हेरौं न ! ‘कुलिङ अफ पिरियड’मा कुरा नमिलेर केही महिना थन्किएको विधेयक पछि कुरा मिलेपछि प्रतिनिधिसभाबाट बहुमतले पारित भयो । अर्को दिन धेरै मिडियामा विधेयकका मुख्य कुरा भनेर ‘कुलिङ अफ पिरियड’ दुई वर्ष कायम भनियो । अझ अर्को दिन मात्र वास्तविकता बाहिरियो– त्यहाँ त जालझेल गरिएछ । अहिले एकले अर्कोलाई दोष लगाउने काम जारी छ ।

यहाँ गल्ती, कमीकमजोरी सबै पक्षबाट भएको छ । प्रतिनिधिसभाजस्तो जनमतको उच्च सम्मान पाएर गएको सभाले विधेयकजस्तो कुरा पनि नपढीकन, नबुझीकन थपडी बजाएर पास गर्नुलाई सानो गल्तीका रूपमा लिन हुँदै हुन्न । अर्कातिर ‘कुलिङ अफ पिरियड’ राख्नुहुन्न भनेर लावा–लस्कर नै लागेर दलका नेता र मन्त्रीलाई दबाब दिइरहेका उच्च पदस्थ कर्मचारीले चलखेल नगरी विधेयकमा पक्कै पनि जालझेल भएको छैन ।

हाम्रै बेथिति पनि हैरौं न ! भनसुन गरेरै भए तापनि राम्रो ठाउँमा पदस्थापन र सरुवा हुन कर्मचारी मरिहत्ते गर्छन् । हुने कामलाई समेत यसो भएन, उसो पुगेन भनेर फाइल नअड्काएसम्म आफू कर्मचारी भएजस्तै लाग्दैन । टाठाबाठा नागरिकमा नहुने कामलाई समेत भनसुन गरी, अलिअलि आर्थिक प्रलोभन देखाई आफ्नो कामको फाइदा उठाउने प्रवृत्ति व्यापक छ । हाम्रो नेतृत्व वर्गमा उच्च राजनीतिक संस्कारको अभाव छ । माननीय भएपछि जे गर्दा पनि हुन्छ भन्ने खराब सोच र विचारले भ्रष्ट मानसिकता विकास भएको छ । उच्च पदस्थ कर्मचारीसँग चाकरी र चाप्लुसी गरेर आफूसहित आफ्नाहरूको फाइदाभन्दा माथि उठ्न नसक्नु पनि नेताहरूको विडम्बना नै हो ।

निजी क्षेत्र गुणस्तरहीन वस्तु तथा सेवाहरू दिएर उच्च मुनाफा लिनमा नै मस्त छ । यहाँ स्वास्थ्यमा खेलबाड, शिक्षामा खेलबाड अनि मृत्युमाथि समेत व्यापार गर्नेहरूको जमात ठूलो छ । हरेक क्षेत्रमा बिचौलिया हाबी भएका छन् । उदाहरणका लागि किसानले प्रतिकेजी २० रुपैयाँमा बेचेको वस्तु उपभोक्ताले सय रुपैयाँ हालेर किन्न बाध्य छौं ।

यस्ता बिचौलिया हरेक क्षेत्रमा सलहझैं छन् । कतिपय अवस्थामा सरकारले नै बिचौलियाको भूमिकासमेत निर्वाह गरेका घटना सार्वजनिक भइरहन्छन् । यस्तो अवस्थामा राज्य निरीह छ । दण्डहीनताको अवस्था व्यापक भएको छ । जब राज्य निरीह हुन्छ, तब नैतिकता हराउँदै जान्छ । जो इमानदार छ, जसले नीति नियमको पालना गरेको हुन्छ, उसले नै दुःख पाउने अवस्था सिर्जना हुन्छ । अहिले हाम्रो अवस्थासमेत यही रूपमा अगाडि बढेको छ ।

व्यापारीले मल लुकाएर राख्छन्, किसान मलको अभावमा तड्पिएका छन् । नागरिकले काम गर्न छोडे । अलि अलि पैसा खोजेर विदेशिने चक्करमा सरकारलाई नै पैसा दिने नागरिकलाई समेत असल भन्न भएन । पैसा लिएर नागरिकलाई कहिले शरणार्थी बनाउने त कहिले भिजिट भिसाको काण्ड समाउनुलाई कुन रूपमा हेर्ने ? समयले अवश्य पनि मूल्यांकन गर्दै जाला ।

प्राकृतिक विपद्, सडक दुर्घटना, हत्याहिंसा, बलात्कारजस्ता घटनाले हामीलाई दुख्न छाडेको छ । मानवीय संवेदनशीलता हराउँदै गएको छ । जुन पीडक हो, उसलाई सबैले ओत्ने र जुन वास्तविक पीडित हो, उसले परिवारभित्रैबाट समेत न्याय नपाउनुलाई के भनेर बुझ्ने ? तसर्थ, अबको हाम्रो लडाइँ आफैंसँग हुन जरुरी छ । हामीले आफूले आफैंलाई झोला भिर्नेबाट होइन, झोले मानसिकता भएकाबाट टाढै राखौं ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय