नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक बुधबारको प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ।
महामन्त्री शर्माले विधेयक संशोधन हुनुपर्ने, त्यसमा सहमति जुटाउनुपर्ने खाँचो औंल्याउँदै सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत गर्न लागेको भन्दै आपत्ति जनाएका छन्। पूर्व सहमति खोज्न या यसलाई छलफलका लागि समितिमा पठाउन पनि उनले माग गरेका छन्।
‘भूमिसम्बन्धि केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरूरी छ। पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमति छ। लटरपट नगरौं, पूर्व सहमति खोजौं कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्– भूमि विधेयक,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
कांग्रेसका एक नेताका अनुसार मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। त्यही छलफलपछि उक्त विधेयक पारित गर्न लागिएको हो।
