१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

उद्यमशीलताबिना महिला र युवा अगाडि बढ्न सक्दैनन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताबिना महिला र युवा अगाडि बढ्न नसक्ने बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

नेपाल लगायत सार्क क्षेत्रका उद्यमी तथा विज्ञहरू सहभागी उक्त सम्मेलनमा जलवायु परिवर्तनले व्यवसायमा पार्ने प्रभाव, निर्यात गर्न सक्षम व्यवसायको थालनी तथा व्यवसाय बढोत्तरीमा कृत्रिम बौद्धिकताको प्रयोगलगायत विषयमा प्रस्तुति र छलफल गरिनु अत्यन्त सराहनीय कार्य रहेको प्रधानमन्त्रीको भनाइ थियो। ‘महासंघको मात्र नभई यो समग्र नेपाली महिलाको उद्यमशीलताका लागि ऐतिहासिक क्षण हो,’ प्रधानमन्त्री ओलीले भने।

नेपालका विद्यालय र क्याम्पसमा छात्रको भन्दा छात्राको संख्या अधिक रहेको चर्चा गर्दै उनले राजनीतिक सहभागिताका हिसाबले पनि स्थानीय सरकारको नेतृत्वमा ३३ प्रतिशत महिला रहेको बताए।

सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महासंघले उद्यमशीलता र राष्ट्रिय अर्थतन्त्रको विकासमा ठुलो योगदान पुर्‍याएको चर्चा गरे। महिला अर्थतन्त्रका संवाहक रहेको प्रसंग उद्धृत गर्दै उनले व्यवसाय दर्ता र निर्यातमा सरकारले सरलीकरण गरेर व्यवसायीलाई प्रोत्साहन गरेको बताए।

‘जलवायु परिवर्तनले ल्याएको संकटलाई अवसरमा बदल्न हरित उद्यमको अवधारण ल्याइएको छ। यसको विकासमा सरकार प्रतिबद्ध छ,’ मन्त्री भण्डारीले भने। कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले महिला उद्यमशीलताका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महासंघ २२ वर्षमा प्रवेश गरेको चर्चा गर्दै यो अवधिमा उद्यमशीलताको विकास तथा नवीनता प्रवर्धनमार्फत महिलाको आर्थिक सशक्तीकरणमा महासंघले महत्त्वपूर्ण योगदान गरेको बताइन्। सरकारले महिला तथा युवालाई लक्षित गरेर ‘स्टार्ट अप’ सञ्चालन गर्न दिएको सहयोग र प्रोत्साहन सराहनीय रहेको उनको भनाइ थियो। सम्मेलनका निष्कर्ष नेपालका लागि मात्रै नभई समग्र दक्षिण एसिया क्षेत्रका लागि उपयोगी हुने उनले बताइन्।

सम्मेलनको उदघाट्न सत्रमा बोल्दै साउथ एसिय वुमन्स नेटवर्क (स्वान) की संस्थापक ट्रस्टी तथा कन्भेनर विना सिक्रीले दक्षिण एसियामा महिलाले हरेकजसो काम गर्ने गरे पनि त्यसको सही लेखाजोखा नभएको बताइन्। ‘कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा महिलाले गर्ने अनौपचारिक कार्यको हिसाबकिताब गर्ने हो भने यो निकै ठुलो आँकडामा आउँछ,’ उनले भनिन्।

पितृसत्तात्मक सोच र अन्य सांस्कृतिक कारणले महिलाहरू पछाडि परेको चर्चा गर्दै उनले आफ्ना संस्था स्वानले यो क्षेत्रमा महिला सशक्तीकरणको क्षेत्रमा कार्य गर्दै आएको बताइन्।

उद्घाटन सत्रमा श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेकी पत्नी शिरान्थी राजपाक्षेले दक्षिण एसियामा महिलाको कार्यसम्पदानको आधार आज्ञाकारितामा मापन गरिने बताइन्। महिलालाई आर्थिक हिसाबले सशक्त पार्न वित्तीय समावेशिता र प्राविधिक प्रशिक्षणको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै दक्षिण एसियाली देशले महिला सशक्तीकरणको क्षेत्रमा हासिल गरेका आपसका ज्ञान र सफल अभ्यासको साझेदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो।

युएन वुमन नेपालकी आवासीय प्रतिनिधि पेट्रिसिया फर्नान्डेज पाचेकोले डिजिटल तथा वित्तीय समावेशिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने बताइन्। उनले समावेशी उद्यमशीलताको प्रणालीको विकास, संरचनतागत अवरोधको सम्बोधन, जलवायुमैत्री कृषि तथा उद्यमशीलताको विकासमा ध्यान दिन सुझाइन्।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले महिला सशक्त नभएसम्म दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने बताए। यसैगरी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बालबच्चाको हेरचाह, साक्षरता तथा उद्यमशीलतासम्मको समग्र इकोसिस्टम निर्माणमा लगानी हुनुपर्ने बताए।

व्यवसायमा जलवायु परिवर्तनको प्रभाव चर्चा

सम्मेलनका क्रममा ‘व्यवसायमा जलवायु परिवर्तनको प्रभाव विषयक सामूहिक छलफल भयो। उक्त छलफलमा साउथ एसिया वुमन्स नेटवोर्क (स्वान) की संस्थापक ट्रस्टी तथा कन्भेनर विना सिक्री, नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक तथा मामा नेपाल इन्भेस्टमेन्ट कम्पनीका संस्थापक समृद्धि ज्ञवाली र ट्रान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य सहभागी थिए।

उक्त छलफलमा बोल्दै साउथ एसिया वुमन्स नेटवोर्क (स्वान) की संस्थापक ट्रस्टी तथा कन्भेनरबिना सिक्रीले जलवायु परिवर्तनको संकट सम्बोधन गर्न दक्षिण एसियाली राष्ट्रले आपसी सूचनाको आदानप्रदान र सहकार्य गर्नुपर्ने बताइन्।

बढ्दो क्रममा रहेको जलवायु संकटको प्रभाव ग्रामीण क्षेत्रमा धेरै असर रहेको र झन् महिलाहरू धेरै प्रभावित हुने उनको तर्क थियो। ‘खाद्यान्न, पानी र इन्धनका लागि महिलाको भूमिका हुन्छ र जलवायु परिवर्तनले यसलाई प्रभावित पारेको छ,’ उनले भनिन्। साउथ एसियन वुमन नेटवर्कले ग्रामीण महिलाको सशक्तीकरणलाई ध्यान केन्द्रित गरेको उनको तर्क थियो। महिलाहरू समस्याको नभई समाधानको अंग हुनुपर्ने उनको तर्क थियो। परम्परागत ज्ञानका हिसाबले महिला धनी हुने, कृषि तथा बीजका बारेमा उनीहरूको ज्ञान बढी हुने उनको तर्क थियो। ‘क्लाइमेट सुशासनमा महिलाको सहभागिता अपरिहार्य छ,’ उनले भनिन्।

प्यानल छलफलमा नेपाल रिपब्लिक मिडिकाकी प्रबन्ध निर्देशक तथा मोमा नेपाल इन्भेस्टमेन्ट कम्पनीकी संस्थापक समृद्धि ज्ञवालीले जलवायु अनुकूलन र न्यूनीकरणका लागि कम्पनीको स्थापना भएको बताइन्।

नेपाललाई जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि ठुलो स्तरमा वित्तीय सहयोगको आवश्यकता रहेको चर्चा गर्दै उनले यसमा निजी क्षेत्रको भूमिका पनि अहं रहेको बताइन्। स्थापना भएको दुई वर्षमा सानो स्तरमा जलवायु वित्त भिœयाउन आफ्नो कम्पनी सफल रहेको उनको भनाइ थियो।

‘नेपालमा जलवायु अनुकूलन र न्यूनीकरणका लागि अर्बौं डलरको आवश्यकता छ। तर यसको आपूर्तिमा ठुलो खाडल छ। यस्तो अवस्थामा जलवायु वित्त आकर्षित गर्न आवश्यक छ,’ उनले भनिन्। इन्भेस्टमेन्ट कम्पनीले अन्तर्राष्ट्रिय पुँजी आकर्षित गर्न सक्नुपर्ने, त्यसको सही उपयोग गर्नुपर्ने र कम्पनी भएका कारण लाभ पनि दिन सक्ने हुनुपर्ने उनको धारणा थियो। ‘जलवायु कार्यका लागि अनुदान र अन्य सहयोगभन्दा पनि हामी उद्यमशीलताको विकास र यसप्रकारको उद्यमशीलताको विकासका लागि आधारभूत वित्तीय सहयोगको वातावरण सिर्जना गर्ने प्रयासमा छौं,’ उनले भनिन्।

ऊर्जा, पर्यटन, कृषिको क्षेत्रमा मोमा नेपाल इन्भेस्टमेन्ट कम्पनीको लगानी रहने उनले जानकारी दिइन्।

नेपालको परिवर्तनका लागि युवा उद्यमीको भूमिका बढ्दो क्रममा रहेको चर्चा गर्दै उनले यो युवा जमात् जलवायुप्रति संवेदनशील रहने गरेको बताइन्। ‘युवाहरू आफ्ना अनुकूल नीतिका लागि आवाज उठाइरहेका छन्,’ उनले भनिन्। जलविद्युत् ऊर्जाको विकास गर्ने क्रममा जलवायु परिवर्तनका कारण यसले भविष्यमा बेहोर्न पर्न जोखिमको पनि उचित मूल्यांकन र समीक्षा हुनुपर्ने उनको तर्क थियो। ‘जलविद्युत् निकाल्दा यसले खानेपानी, सिँचाइका लागि आवश्यक पर्ने पानीको आपूर्तिमा प्रभाव गर्छ कि गर्दैन, त्यो विचार गर्नुपर्छ,’ उनले भनिन्।

सौर्य ऊर्जाको उत्पादन नेपालका लागि अवसर रहेको चर्चा गर्दै उनले पूर्वसूचना प्रणालीको विकासमा सबैको ध्यान दिन दिनुपर्ने बताइन्। ‘नेपाल अन्य देशभन्दा फरक छ। मानव विकास सूचकांकमा नेपाल राम्रो छ। तुलनात्मक रूपमा शान्त छ। जातजाति, धर्म र भाषाको हिसाबले धनी छ। नेपालले यही सम्पत्तिलाई प्रयोग गर्नुपर्छ, धार्मिक पर्यटन, इको टुरिजमको विकासमा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘हामीले कुनै पनि बिजनेस मोडेल बनाउँदा यी कुरालाई ध्यान दिनुपर्छ।’

छलफलका सहजकर्ता तथा टानजेन्ट वेभ्सका संस्थापक सुमन शाक्यले हरित गृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान रहँदारहँदै पनि पछिल्ला वर्षमा नेपाल जलवायु संकटको ठुलो मारमा पारिरहेको बताए। ‘यो अवस्थामा व्यवसाय सञ्चालन गर्दा पनि जलवायु परिवर्तनका प्रभावको लेखाजोखा र अनुकूलनका उपायहरू अवलम्बन गर्नुपर्ने देखिएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय