नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को शनिबार काभ्रेपलाञ्चोकको ढुंखर्क, बेथानचोकबाट छायांकन सुरु गरिएको हो । गत असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायांकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।
दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामे˘वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका थापा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष हुन् । पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीन जनाको यो पहिलो पटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् । यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
निर्देशक दीपेन्द्रकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । छायाकंन सुरुवात भएसँगै निर्देशक खनालले ‘क्याप्टेन साब’ एक फरक खालको सिनेमा निर्माण हुन लागेको बताए ।
क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टु द फायर’ (बारुदमाथि उड्दा) मा आधारित भए पनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक चलचित्र बनाइने निर्देशक खनालले बताए ।
