१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

काठमाडौं महानगरद्वारा छात्रवृत्ति पाउने विद्यार्थीको सूची सार्वजनिक

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ।

यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा संकायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ। कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो। मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो।

मनोनयन भएकाले यही साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने छ। तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञवालीले जानकारी गराउनुभएको छ। पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागको भनाइ छ।

मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। छनोट भई पढ्नका लागि सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौं महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपांगता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्।

विसं २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए। कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अंग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कूल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ गतेमा प्रकाशित भएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय