मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा बुकी फूल छ, जुन झपक्क फूलेको छ।लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन्, जो भलिबल खेलिरहेका छन् ।
भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेको झै देखिन्छ । तर, यसबारे निर्माण पक्षले प्रष्ट पारेको छैन ।
यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्नेछ। प्रकाश आले र राजन केसी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा छन् ।
