नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ ।
बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय कांग्रेसका शीर्ष नेताहरूको बैठकले गरेको हो । न्यौपाने समानुपातिक तर्फकी सांसद हुन् ।
समिति सभापति रामहरि खतिवडाले राजीनामा गत साउन २८ गते पदबाट राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेलाई उम्मेदवार बनाउन लागिएको हो । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।
२७ सदस्यीय समितिमा कांग्रेसबाट उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, दीलेन्द्रप्रसाद बडू, सरिता प्रसाईँ, हृदयराम थानी, न्यौपाने, खतिवडा र अम्बिका बस्नेत गरी नौ जना सदस्य छन् ।
