जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीयता नक्कली संघीयता भएको बताएका छन् ।
सोमबार विराटनगरमा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको संघीयता नक्कली संघीयता भएको बताएका हुन् ।
यादवले अधिकार प्राप्तिका लागि विगत देखि नै आन्दोलनहरू भइरहे पनि ती आन्दोलनहरू पूर्ण प्रभावकारी नभएको बताए । यादवले अधिकार मागेर नभई खोसेर लिनुपर्ने भए पनि अधिकार खोसेर लिन कोही तयार नहुँदा मधेसी, जनजाति, दलित, मुस्लिम र पिछाडि पारिएको क्षेत्रले लामो संघर्ष पछि पनि अधिकार प्राप्त गर्न नसकेको उनको धारणा छ । यादवले नश्लवादी चिन्तन भएका नेताहरूसँग टाँसिइरहने प्रवृत्तिले अधिकारबाट वञ्चित गराइरहेको स्पष्ट पारे ।
यादवले भने,‘जहिले सम्म हेलाहोचो गर्ने नश्लवादी पार्टी र नेताहरूसँग टाँसिइरहन्छौ तबसम्म अधिकार प्राप्त गर्न सक्दैनौँ ।’ यादवले विगतमा आफूहरूबाट पनि कमजोरी भएको स्वीकार गरे । अधिकार प्राप्तका लागि लडेका नेताहरू विभाजित हुने, पार्टी फोडेर छिन्न भिन्न हुने क्रमले अधिकार प्राप्तिको आन्दोलन कमजोर भएको उनको स्वीकारोक्ति छ ।
यादवले पूर्ण अधिकार र वास्तविक संघीयता प्राप्तिका लागि सबै उत्पीडित वर्गहरू एक ठाउँमा उभिएर नयाँ मोर्चा बन्दी गरेर अघि बढ्नु आवश्यक रहेको बताए । उनले भने ‘मधेसी, थारु, जनजाति, दलितलगायत सबै उत्पीडित वर्गले एउटै मोर्चा बनाएर अघि बढे वास्तविक अधिकारसहितको,पहिचानसहितको सङ्घीयतासँगै अधिकार पनि प्राप्त गर्न सकिन्छ ।’ अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नभएको पनि उनले स्पष्ट पारे । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनतालाई अन्याय भयो भनेर ३५ वर्ष देखि आफू आन्दोलनरत रहेको भए पनि अझै न्याय पाउन नसकेको बताए ।
‘विगतमा ६ महिना निरन्तर आन्दोलन गरेको भए पनि आन्दोलन रोक्न गरिएको सम्झौता संविधानमा उल्लेख नभएपछि सबै आन्दोलन ट्याँइट्याँइ फिस भयो’ महतोले भने । अधिकारको आन्दोलन सफल बनाउन सबै मिल्नु पर्ने मिल्न नसके पनि मोर्चा बनाएर अघि बढ्न आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष ह्देयश त्रिपाठीलगायत मोर्चाका नेताहरूले मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलितलगायतको मोर्चा बनाएर आन्दोलनमा उत्रिन आवश्यक रहेको धारणा राखे ।
