नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कसैलाई कार्यवाहक नदिने बताएका छन् । कार्यवाहक सभापति दिएर महाधिवेशनमा जाने विषयमा चर्चा परिचर्चा भइरहँदा देउवाको सचिवालयले अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताएको हो ।
देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताए । ‘अहिलेसम्म कार्यवाहक दिने विषयमा छलफल नै भएको छैन,’ स्वकीय सचिव भानुले भने, ‘तयारी पनि केही गरिएको छैन ।’
मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुनेछन् । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका सभापति देउवा अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । स्वकीय सचिव भानुले मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने जानकारी दिए ।
बैठकमा उपस्थित भएर सम्बोधन गर्ने देउवाको तयारी छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक लामो समयसम्म चल्यो भने आफू उपस्थित भएर सम्बोधन गर्ने र बैठकभरका लागि मात्रै कार्यवाहक दिनसक्ने विषयमा भने कुराकानी भइरहेको छ । तर, महाधिवेशन नहुञ्जेलसम्मका लागि कार्यवाहक दिने सोचमा देउवा नरहेको ती पदाधिकारीले बताए ।
जेनजी आन्दोलनपछि गत भदौ २८ गते, असोज ३ गते र असोज २३ गतेदेखि दैनिक रूपमा बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन छ ।
प्रवक्ता डा. प्रकाश शरण महतले शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले कार्यवाहक दिने विषयमा कुनै चर्चा नभएको बताएका थिए ।
