आउँदाे माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ।
सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे) ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमामा समेटिएका छन्। यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ। ‘भाइरल गोर्खे’ को रोचक र मर्मस्पर्शी ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ।
सौगातले सिनेमामा एक्सन स्टार शिव श्रेष्ठ जस्तै चर्चित बन्ने सपना बोकेको पात्रले समाजिक टिकटकमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्दा चर्चित हुन्छ तर उसले जीवनमा यथार्थको सामना गर्नुपर्दा रिल र रियल लाइफको अन्तरविरोधमा मुख्य पात्र कसरी अघि बढ्छ भन्ने कथा सिनेमामा देखाइएको छ।
सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिकाे व्यंग्य र प्रश्न गदै सिनेमा निर्माण गरिएको हो।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। यो सिनेमाले आफ्नो निर्देशकीय क्षमता पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहना पूरा गर्ने विश्वास व्यक्त गर्छन्। समसामयिक र घरघरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन्।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय छ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको सिनेमाका सहनिर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन्।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। ‘भाइरल गोर्खे’ को वितरक सुनिल मानन्धर, द्वन्द्व निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा हुन्।