प्रतिनिधिसभाको चुनावमा थुप्रै चुनावी गीत बने । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कति गीतहरू घण्टी बजे जसरी सामाजिक सञ्जालमा घन्किरहे । पुराना दलका चुनावी गीतले पनि प्रकाशमा नआएका होइनन् । तर, यो पटक चुनावमा यस्ता गीत बढी गुन्जिए, जसको सम्बन्ध चुनावसँग जोडिएकै थिएन । तर, चुनावी प्रचारमा प्रयोग हुँदा ती गीतले चुनावी गीतको पहिचान पाए । अहिले पनि कतिलाई चुनावी गीत र ती गीतमा फरक छुट्याउन आउँदैन । ज्वलन्त उदाहरण हो गीत- ‘लेखौँ भविष्य’ ।
‘लेखौँ भविष्य आफ्नो आफैँ नै अरू कोही आई बनाउँदैन यो देश’ भन्ने अंशलाई यो चुनावमा यसरी प्रयोग गरिए कि अहिले कतिले यसलाई रास्वपाको चुनावी गीत भनेर बुझ्छन् । अझ भन्नुपर्दा धेरैले यसलाई रास्वपाको चुनावी गीत भनेर सुन्दै आएका छन् । गीतको ‘बल्नेछौँ रातमा राँको बनेर चिच्याई डाँकमा डाँको छोडेर’ भन्ने अंशले त रास्वपाको बोली नै बोलेझैँ सुनियो । निर्वाचनमा नयाँ अनुहारलाई विश्वास गर्ने लहरबीच थुप्रैले यो गीतमा आफ्नो बोली भेटे । आफ्नो भाव भेटे । तर, यो चुनावी गीत भने होइन ।
दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’मा समावेश गीत हो यो । ‘यो देश’ बोलको यो गीत निश्चल बस्नेतको फिल्ममा समावेश थियो । जुन गीत जेन-जी आन्दोलनबीच चर्चाको शिखरमा पुग्यो । तर, अहिले चुनावमा यो गीत ‘एन्थम’ बनेर गुन्जियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट्याउनेले यही गीत प्रयोग गरिदिँदा कतिले यसलाई रास्वपाकै गीत ठानेँ । तर, यस गीतका संगीतकार एवं रचनाकार जयन जे वाइवा यो गीत चुनावी गीत नरहेको दाबी गर्छन् ।
‘यो चुनावी गीत होइन । यसमा कतै तपाईँ घण्टी सुन्नुहुन्नु । देश बन्नुपर्छ, देश के गर्दा बन्छ त भन्ने कुरा मात्रै हामीले यसमा व्यक्त गरेका हौँ,’ संगीतकार वाइवाले भने, ‘अहिले यो गीत चलेको देख्दा एकदम खुसी लाग्छ । यो गीत त रास्वपाले मात्रै होइन कांग्रेस र एमालेले पनि प्रयोग गरे नि । खासमा यो गीत देशका लागि बनाएको हो, चुनावका लागि होइन । मानिसलाई जागरूक बनाउन हामीले यो गीत ल्याएका थियौँ ।’ वाइवाले भनेझैँ यदि तपाईँले टिकटकतिर भिडियो स्क्रोल गर्नुभयो भने रास्वपा मात्रै होइन अन्य दलले पनि यो गीतमाथि प्रचारका भिडियो बनाएको देखिन्छ ।
वाइवाका अनुसार दुई वर्षअघि निर्देशक निश्चल बस्नेतले उनलाई देशभक्तिको गीत लेख्न लगाएका थिए । अहिलेको पुस्तासँग मिल्ने भावसहितको गीत । त्यतिबेला फिल्म ‘दिमाग खराब’को छायांकनको तयारी चलिरहो थियो । जयनले भावनात्मक गीत लेखिदिए । तर, निश्चललाई भावनात्मक भन्दा पनि जनताको भाव बोक्ने गीत चाहिएको थियो । जयनलाई पनि निश्चलसँग काम गर्ने हुटहुटी थियो । त्यसैले दुईबीच गीतमाथि लामो समय छलफल चलिरह्यो । एकदिन निश्चलले चलाउँदै गरेको बाइकको पछाडि चढेर ज्ञानेश्वरको उकालो चढ्दै गर्दा उनीसँग गफिँदा-गफिँदै वाइवालाई गीतका शब्द फुर्यो । उनले तत्कालै मोबाइलको अडियोमा शब्दहरू रेकर्ड गरे :
लेखौँ भविष्य आफ्नो आफैँ नै अरू कोही आई बनाउँदैन यो देश
जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश
बल्नेछौ रातमा राँको बनेर चिच्याई डाँकमा डाँको छोडेर
उठ्नेछ देश उदाउनेछौँ हामी यो भत्केको घरलाई उठाउनु छ माथि
त्यतिबेला जयनको दिमागमा गीतका शब्दसँगै मेलोडी पनि गुन्जियो । उनले घर पुगेर मेलोडी भरिदिए । खासमा निश्चललाई यो गीत ‘गाउँ गाउँबाट उठ’जस्तै शक्तिशाली शब्द र भावसहितको बनाउनु थियो । स्क्रिप्ट लेख्ने क्रममा यो गीत कल्पँदै गर्दा पनि निश्चलको दिमागमा ‘गाउँ गाउँ बाट उठ’ आइरहेको थियो ।
‘फिल्मको स्क्रिप्ट लेख्दै गर्दा कहाँ-कहाँ गीत चाहिन्छ ? कस्तो मुड र शब्दको गीत चाहिन्छ भनेर लेख्दै गएका थियौँ । अनि त्यतिबेलै फिल्मको यो ठाउँमा यस्तो गीत भनेर लेख्दै गएका थियौँ । जयनसँग पनि कुरा गरिरहेका थियौँ,’ निश्चल सुनाउँछन्, ‘यो गीत फिल्ममा जुन जुन समयमा आउँछ, त्यसमा खासमा पहिले गाउँ-गाउँबाट उठ भन्ने गीत राख्न खोजेका थियौँ । हामीलाई यो गीतजस्तो तगडा अरू छजस्तो लागेको थिएन । हरेक मानिस सचेत हुनुपर्छ, ब्युँझनुपर्छ भन्ने कुरा यो गीतले जुन शक्तिशाली शैलीमा बोल्छ, त्यसैले यसलाई राख्नुपर्छ भन्ने सोच थियो । तर, पछि जयनले म आफैँ केही कोसिस गर्छु भन्यो ।’
निश्चलले ‘गाउँ गाउँबाट उठ’ जस्तै शक्तिशाली गीत आफूले बनाउन चाहिरहेको बताइदिएपछि नै हो जयन शब्द र मेलोडीहरूमा घोत्लिन थालेको । तर, निश्चललाई थाहा थियो, ‘गाउँ गाउँबाट उठ’लाई विस्थापन गर्न सकिन्न, त्यस्तै गीत निकाल्न केही खतरै निकाल्नुपर्छ ।
‘उसले लेखिरहेको थियो । त्यतिबेला धेरै नै छलफल गर्यौं । गीत यत्तिकै बन्दैन नि ! फिल्मको उक्त ठाउँमा के भन्न खोजिरहेको हो ? त्यही अनुरूपको गीत निकाल्न कस्तो शब्द प्रयोग गर्ने ? फेरि संगीत शक्तिशाली हुनुपर्यो । सुन्दा पनि जिरिङ्ग हुनुपर्यो भन्ने कुरा थियो । उसले बनाइरह्यो, कहिले के चित्त बुझ्दैन थियो,’ निश्चलले विगत सम्झँदै भने, ‘मैले जयनलाई फिल्मको दृश्य यस्तो छ, देशमा हामीले जे भोगिरहेका छौं, त्यो परिस्थितिमा तिमीले के खोजिरहेका हुन्थ्यौ त ? त्यही सम्झेर गीत लेख भनेँ, उसले लेख्यो ।’
निश्चलले भने अनुसार नै गीतका शब्दहरूमा धुन भरेर जयनले गीतको ‘डमी’ पठाइदिए । त्यसमाथि संगीत भरियो । अनि त गीत सुन्दा निश्चलको शरीरमा काँडा उम्रियो । उनलाई लाग्यो, ‘गीत पाइयो ।’
‘फाइनल गीत सुन्दा त्यतिबेला काँडा उम्रेको थियो । यतिको गीत भयो भने आफ्नो भोगाइ, भनाइ व्यक्त गरेझैँ हुन्छ भन्ने पनि लाग्यो । खासमा मन मस्तिष्कमा असर गरेपछि नै कुनै गीतले गुजबम्प दिने रहेछ,’ निश्चलले सुनाए ।
