बलिउड अभिनेता आमिर खान आजदेखि ६१ औं वर्षमा प्रवेश गरेका छन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका आमिर अभिनय र व्यावसायिक कुशलताका कारण लोकप्रिय छन् ।
आमिरका बा ताहिर हुसेन र काका नासिर हुसेन बलिउडका स्थापित निर्माता थिए ।
घरकै फिल्मी वातावरणका कारण सानैदेखि फिल्ममा रुचि राख्ने आमिरले सन् १९७३ मा बाल कलाकारका रूपमा फिल्म ‘यादौं की बारात’ बाट रजतपटमा पाइला टेकेका थिए ।
त्यसपछि सन् १९७४ को ‘मदहोश’ मा बाल कलाकारकै भूमिकामा देखिएका उनी करिब ११ वर्ष फिल्म उद्योगबाट टाढा रहे ।
सन् १९८४ मा फिल्म ‘होली’ बाट अभिनेताका रूपमा डेब्यु गरे पनि उनले सुरुवाती सफलता पाउन सकेनन् । तर, मुम्बईमा चार वर्षको संघर्षपछि १९८८ मा आफ्नै काकाको फिल्म ‘कयामत से कयामत तक’ बाट उनी एकाएक चर्चामा आए ।
सोही फिल्मबाट उनले फिल्मफेयरको ‘डेब्यु अभिनेता’ अवार्ड समेत जितेका थिए ।
सुरुवाती दिनमा ‘रोमान्टिक हिरो’ को छवि बनाएका आमिरले सन् १९९४ मा राजकुमार सन्तोषीको फिल्म ‘अन्दाज अपना अपना’ बाट प्रभाव छाडे । सोही वर्ष फिल्म ‘बाजी’ को एउटा गीतका लागि उनले केटीको भूमिका निभाएका थिए, जसका लागि उनले आफ्नो शरीरका रौं हटाउन ‘वाक्सिङ’ समेत गरेका थिए ।
सन् १९९६ को ब्लकबस्टर फिल्म ‘राजा हिन्दुस्तानी’ मा उनले एक जड्याहाको भूमिका निभाउनुपर्ने थियो ।
वास्तविक जीवनमा कहिल्यै मदिरा सेवन नगरेका आमिरले पर्दामा दृश्य वास्तविक देखियोस् भन्नका लागि पहिलोपटक रक्सी पिएर सुटिङ गरेका थिए ।
त्यस्तै, सन् १९९८ को फिल्म ‘गुलाम’ को एक दृश्यमा रेलको अगाडि दौडिनुपर्ने जोखिमपूर्ण स्टन्ट उनले आफैंले गरेका थिए, जसले दर्शकलाई रोमाञ्चित बनाएको थियो ।
सन् २००१ मा आमिरले ‘आमिर खान प्रोडक्सन’ स्थापना गरी फिल्म निर्माणमा हात हाले । उनको पहिलो निर्माण ‘लगान’ ले भारतीय सिनेमामा इतिहास रच्यो । ग्रामीण परिवेशमा आधारित यस फिल्ममा उनले ‘भुवन’ नामक पात्रको भूमिका निभाएका थिए, जसले अंग्रेजहरूलाई क्रिकेट खेलमा हराएर कर (लगान) मिनाहा गराउँछ ।
