दक्षिण भारतीय चलचित्रका लेखक, निर्देशक तथा निर्माता सन्तोष कुमारले हालै प्रदर्शनमा आएको चलचित्र ‘धुरन्धर २’ को स्किृप्ट आफ्नो भएको दाबी गरेका छन्। उनले सन् २०२३ मा लेखेको कथालाई नै अहिले ‘धुरन्धर २’ का रूपमा बनाइएको आरोप लगाउँदै यसका विरुद्ध कानुनी उपचारमा जाने घोषणा गरेका हुन्।
एक पत्रकार सम्मेलन गर्दै लेखक सन्तोष कुमारले ‘धुरन्धर २’ को स्किृप्ट चोरी भएको गम्भीर आरोप लगाएका हुन्। उनले मिडियासँग कुरा गर्दै चलचित्र हेरेपछि मात्र त्यो आफ्नो मेहनत र कथा भएको थाहा पाएको बताए।
सन् २०२३ मा मुम्बई आएर उनले सोनी, जी, टी-सिरिज र धर्मा प्रोडक्सन जस्ता ठूला कर्पोरेट हाउसहरूमा यो कथा सुनाएको दाबी गरे। ‘मलाई ठूलो अभिनेता चाहिन्छ भने ठुलो कर्पोरेट कम्पनी लिएर आउन भनिएको थियो,’ उनले भने।
सन्तोष कुमारका अनुसार उनले यो चलचित्रका लागि अभिनेता आदित्य रोय कपुरलाई मुख्य भूमिकामा लिन चाहेका थिए र धेरै निर्देशकहरूलाई स्किृप्ट पठाएका थिए। उनले नोभेम्बर २०२३ मा स्क्रिनराइटर एसोसिएसनमा आफ्नो स्किृप्ट दर्ता गराएको र आफूसँग त्यसको प्रमाणका रूपमा तस्बिर, स्केच र दर्ता कागजपत्र सुरक्षित रहेको बताए।
