इरान र इजरायलबिच जारी युद्धका कारण मध्यपूर्वमा बढेको तनावले बलिउड चलचित्रको सुटिङ तालिका धमाधम प्रभावित हुन थालेको छ। शाहरुख खानको प्रतिक्षित चलचित्र ‘किङ’ पछि अब अक्षय कुमारको बहुप्रतिक्षित कमेडी चलचित्र ‘वेलकम टु द जंगल’ को दुबईमा हुने भनिएको सुटिङ पनि रद्द गरिएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार निर्देशक अहमद खानले चलचित्रको एउटा विशेष गीत सबै स्टारकास्टका साथ दुबईमा छायांकन गर्ने योजना बनाएका थिए। अवस्था सामान्य हुने आशमा केही समय पर्खिए पनि स्थिति झन् तनावपूर्ण बन्दै गएपछि अन्ततः दुबईको सुटिङ रद्द गर्ने निर्णय लिइएको हो। अब उक्त गीतको सुटिङ दुबईको सट्टा मुम्बईमै सेट तयार पारेर गरिने भएको छ।
ठूलो स्टारकास्ट भएका कारण सुटिङ सार्न सम्भव नभएपछि निर्माण पक्षले मुम्बईका विभिन्न स्थानमा सेट बनाउन सुरु गरिसकेको छ। मुम्बईको मद आइल्याण्ड, गोल्डेन टोब्याको स्टुडियो र गोरेगाउँको फिल्म सिटीमा विलासी नाइट क्लब, क्यासिनो र निजी विमान (प्राइभेट जेट) जस्ता महँगा लोकेशन देखाउन ठूला सेटहरू बनाइँदैछ। यी सेटहरूको डिजाइन सैलेश माडिकले गरिरहेका छन्।
निर्देशक अहमद खान र निर्माता फिरोज ए नाडियाडवाला यो गीतलाई निकै विलासी र ग्ल्यामरस शैलीमा देखाउन चाहन्थे। त्यसका लागि सुरुमा दुबईलाई उत्कृष्ट गन्तव्य मानिएको थियो।
यसअघि अप्रिल ९ देखि दुबईमा हुन लागेको शाहरुख खानको किङको सुटिङ पनि सुरक्षा सतर्कताका कारण रद्द भइसकेको छ। किङको सुटिङ अब मुम्बईको विले पार्ले स्टुडियोमा मरुभूमिको सेट बनाएर गरिनेछ।
